२०८१, १७ माघ बिहीबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक रु १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’



सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि ९आईटी० जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।

इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताउनुभयो । आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक रु १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।” अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्राडा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, “सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ ।”

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताउनुभयो । उहाँले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवद्र्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने उल्लेख गर्नुभयो ।

योङ इनोभेसनका संस्थापक विभूषण बिष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताउनुभयो ।
उहाँले थप्नुभयो, “उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो ‘आइडीया’को मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।”

त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।” कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ ।

प्रकाशित मिति : २०८१, १७ माघ बिहीबार ००:००  ५ : ५३ बजे