२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्छ : बागमतीका मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले हाम्रो चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने बताउनुभएको छ ।

तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६१ ( डुलः सा पुखी ल्हो ) सोनाम ल्होसारको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले सोनाम ल्होसार पर्वले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री लामाले सोनाम ल्होसारको अवसरमा सम्भोटा र नेपाली भाषामा शुभकामना जारी गर्दै आफू नेतृत्वको बागमती प्रदेश सरकार गठन भए पश्चात् बागमती प्रदेशमा तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन यही माघ ११ गते मन्त्रिपरिषद्को बैठकको निर्णयबाट कार्यान्वयनमा लैजाने निर्णय गरिएको स्मरण गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले प्रदेशमा तामाङ भाषाको थप संरक्षण एवम् प्रवद्र्वनमा ठुलो टेवा पुग्ने विश्वास लिएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा अगाडि भन्नुभएको छ, ल्होसारले हामी बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।


धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्त्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको भन्दै उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।

बागमती प्रदेश भित्रका बहुसङ्ख्यक जाति तामाङ समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको बताउँदै उहाँले बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०८१, १८ माघ शुक्रबार ००:००  १ : २७ बजे