२०८१, १८ माघ शुक्रबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादको दिशामा बहस गर्नुपर्नेमा नारायणकाजी श्रेष्ठकाे जोड



राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले समाजवादको दिशामा बहस गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा बोल्दै उहाँले लोकतान्त्रिक विशेषतासहित समाजवादउन्मुख नीति तथा कार्यक्रमका आधारमा समुन्नत नेपालका पक्षमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

हिउँदे अधिवेशन समयमा नबोलाएको भनी आपत्ति प्रकट गर्दै राष्ट्रियसभामा नेकपा ९माओवादी केन्द्र०का नेता श्रेष्ठले हिउँदे अधिवेशन समयमा सुरु नहुने बुझेपछि विशेष अधिवेशनको माग गर्छौं भनी दबाब दिएपछि मात्र अधिवेशन सुरु गरिएको बताउनुभयो । उहाँले यसरी अधिवेशन सुरु गर्नुको सट्टा धमाधम अध्यादेश जारी गर्ने दिशामा सरकार अग्रसर हुनु गलत कार्य भएको टिप्पणी गर्नुभयो ।

“हामी कोही सत्ता पक्ष र कोही प्रतिपक्षका रुपमा आज हामी यहाँ फरक भूमिकामा छाँै तर राष्ट्र र जनताको पक्षमा आवाज उठाउने, मुलुकको लोकतान्त्रिक शासन व्यवस्थालाई रक्षा गर्दै सामाजिक आर्थिक सुधारमा सबैले सक्दो भूमिका निर्वाह गर्नुपर्दछ,” नेता श्रेष्ठले भन्नुभयो, “देश र जनताका पक्षमा सकारात्मक निर्णयसहित यो अधिवेशन सफल बनाउने दायित्व हामी सबैको हो ।”

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले छिमेकी मुलुकसँग विश्वासको वातावरण कायम राख्न नसकेमा देशको हित नहुने भन्दै छिमेकी देशलगायत अन्य मुलुकसँग विश्वासको सम्बन्ध कायम राख्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले विधेयकको नियमन गर्नुपर्ने सत्तापक्ष आफूखुसी संविधान संशोधनको पक्षमा अग्रसर भएको भनी आपत्ति प्रकट गर्नुभयो । “राजनीतिक परिवर्तनलाई साध्य बनाएर मुलुकको समृद्धि हासिल गर्नुपर्ने र लोकतन्त्रको प्रतिफल जनतालाई दिनुपर्छ,” नेता श्रेष्ठले भन्नुभयो ।

नेपाली जनताले चाहेअनुसारको कार्य नभएको भन्दै उहाँले हामीले जनताको हित हुनेगरी समाजिक–आर्थिक रुपान्तरणको कार्यलाई अगाडि बढाउनुपर्नेमा नेता श्रेष्ठको जोड रहेको छ । उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनको औचित्य पुष्टि नगर्ने हो भने जनतामा अविश्वास पैदा हुन्छ ।” राज्यको नेतृत्व गर्ने सरकारले जिम्मेवार अन्य राजनीतिक पार्टीहरुसँग पनि हातेमालो गर्दै मूलभूत मुद्दामा सहकार्य गर्न सरकारसँग आग्रह गर्नुभयो ।   

प्रकाशित मिति : २०८१, १८ माघ शुक्रबार ००:००  ३ : २९ बजे