रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ । नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको छ ।
नगरपालिकाले बिक्रीकक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ ।
स्थानीय तहमा जनप्रतिनिधिको नेतृत्व आइसकेपछि नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम आयोजना गरी उद्यमी उत्पादन गरेको छ । नगरपालिकाको सहयोगमा ज्ञान सीप सिकेर विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गरिरहेका छन् । महिलालाई सीप सिकाएर उद्यमीका रुपमा विकास गरिनुपर्छ भन्ने हिसाबले विभिन्न तालिम तथा कार्यक्रममा जोड दिने गरेको नगर उपप्रमुख बालकुमारी थापा बताउनुहुन्छ । स्थानीय उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले उपप्रमुख कोसेली घर सञ्चालनमा ल्याएको उपप्रमुख थापा बताउनुहुन्छ ।
एकल वा संयुक्त तथा समूहमा व्यवसाय गर्न चाहने महिलालाई सूचना जारी गरी हरेक वर्ष उद्यमी उत्पादन गर्ने खालका विभिन्न कार्यक्रममा सहभागी गराइने गरिएको छ । तालिमपश्चात् व्यवसाय, उद्योग चलाउनका लागि नगरपालिकाले आर्थिक तथा विभिन्न उपकरणजन्य सामग्री सहयोग गरिरहेको छ । नगरपालिकाको सहयोगमा उद्यमी तथा व्यवसायी बन्न चाहनेले भने नगरपालिकामा आफ्नो उद्योग, व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ ।