हुलाकी राजमार्ग निर्माणको काम सम्पन्न गराउन पहल गरिरहेका प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले १५ दिनभित्र काम हुने सुनिश्चितता नगराए काठमाडौं केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि विभिन्न चरणमा जिल्ला र प्रदेश तहसम्म धर्ना र आमरण अनशनसम्मका आन्दोलनको नेतृत्व गरेका अध्यक्ष यादवले पटक पटक भएका सहमती अनुसार काम नभएपछि फेरि सिंहदरबार केन्द्रीत आन्दोलन गर्ने तयारी गरेका हुन् ।
हुलाकी राजमार्ग अन्तरगत नारायण चोकदेखि बेलाटारी सम्म ६ किलोमिटर प्रतापपुर गाउँपालिकामा पर्दछ । ६ किलोमिटर यात्रा गर्न हिउँदमा धुलो र वर्षामा हिलोका कारण डेढ घण्टा भन्दा बढी समेत लाग्ने परिस्थिती छ । यस क्षेत्रमा यात्रा गर्न उत्तिकै जोखिम छ । यसको मारमा सबैभन्दा बढी विद्यार्थी, यात्रु र किसान परेका छन् ।
२०७९ मंसिरमा निर्माण सम्पन्न हुनुपर्ने आयोजना अलपत्र छाडिएको र पटक पटक स्थानीय तह जनप्रतिनिधि तथा सम्बन्धित निकायहरुका बीचमा सहमति भएपनि कुनै ठोस् कार्यान्वयन नभएपछि राजधानी केन्द्रीत आन्दोलनको तयारी गरेको गाउँपालिका अध्यक्ष यादवले अनलाइन सरोकारसँग बताए । सिंहदरबार आएर भौतिक पूर्वाधार मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत धर्ना बस्न बाध्य हुने अध्यक्ष यादवको भनाई छ ।
यसअघि गाउँपालिका अध्यक्षको आमरण अनशन सहितको दवाव मूलक आन्दोलनका क्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसहितको विशेष उपस्थितीमा तत्काल काम सम्पन्न गर्ने दोहोरो सहमति भएको थियो । तर उक्त सहमति अनुसार काम नभएपछि पालिकाले पुन आयोजना कार्यान्वयन गर्ने कार्यालय हुलाकी राजमार्ग योजना कार्यालयलाई पत्र लेखेर फागुण १५ गते भित्र काम नभए थप आन्दोलन गर्ने चेतावनी दिएको हो ।
हुलाकी राजमार्ग निर्माण सम्पन्न गराउन प्रतापपुरका अध्यक्षले निर्वाचित भएयता निरन्तर पहल गरिरहेका छन् ।