बाँकेको बैजनाथ गाउँपालिका ८ स्थित पुष्पनगर बीचलाइनमा शुक्रबार साँझ स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याएपछि रमाइलो चलिरहेको थियो । घरमा भरिभराउ आफन्त र छिमेकीहरू खाइरहेका र गीतमा रमाइरहेका थिए ।
जन्तीहरू अधिकांश घर गइसकेका थिए । घरको तलामाथि सबैतिर आफन्तले रमाइलो गरिरहेको बेला एक्कासी दुलाहका भिनाजु रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्यो । सामान्य हातहालको स्थितिमा रानाको खुकुरी प्रहारबाट दिनेशको शरिरमा गम्भीर चोट लाग्यो ।
२५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ। घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेपनि मुख्य आरोपी दुलाहाको भिनाजु सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय रामबहादुर रानाको नाम सार्वजनिक गरेको छ भने अरुलाई सोधपुछका लागि मात्रै बोलाइएको जनाएको छ ।
दुई समूहको लडाइँपछि भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबीच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीय बताउँछन् ।
छिमेकी पदमसिंह ठकुरी भन्छन्, ‘घर नजिकैको चौधरी थरकी युवतीसँग बिहे भएको हो, दुलही लिएर फर्केपछि रातिको घटना हो, मृतक सुवास र मेरा छिमेकी हुन्, आरोपी दुलाहका भिनाजु हुन्, म त घटनाको बेला थिइनँ तर मदिरा सेवनपछि विवाद बढेर दुई पक्षबीच हानाहान भएको बुझियो ।’
वडा सदस्य राजु रुचाल ठकुरी युवाहरट्ठबीचको विवादमा अप्रिय घटना भएको बताउँछन् ।
‘बिहे घरमा यस्तो घटना भयो, सबै मदिराको समस्या हो’, उनले भने ।
इलाका प्रहरी कार्यालय कोहलपुरले यो घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक रेशम पौडलका अनुसार घटनाको कारक मदिरा हो । मुख्य आरोपी रामबहादुर राना पक्राउ परेको र अन्य केहीलाई सोधपुछका लागि नियन्त्रणमा ल्याएर अनुसन्धान गरिएको उनले बताए ।
इन्स्पेक्टर पौडेलले भने, ‘अहिले शव भेरी अस्पतालमा राखिएको छ, मृतकका बुवाआमा रोजगारीका लागि दुबई रहेकाले अन्य प्रकृया उहाँहरू नआउन्जेल रोकिने भयो, हामीले पोष्टमार्टमको काम सकाएका छौं ।