२०८२, २२ बैशाख सोमबार | Mon May 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसारभरका देशसँग ‘व्यापार युद्ध’ गर्ने तयारीमा ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभरिका मुलुकहरूबाट आउने सामानमा ‘रेसिप्रोकल’ भन्सार महसुल लगाउने तयारी गरेका छन्।

यसले अमेरिकालाई अभूतपूर्वरूपमा विश्वका अन्य मुलुकसँग व्यापार युद्धमा धकेल्ने खतरा छ।

समाचार संस्था रोयटर्सले जनाए अनुसार, आइतबार पत्रकाररूसँग बोल्दै उनले अमेरिकामा आउने सबै मुलुकका स्टिल र आल्मुनियमको आयातमा सोमबारदेखि थप २५ प्रतिशत महसुल लगाउने पनि बताएका छन्।

योसँगै उनले सबै मुलुकबाट आउने सामानमा ‘रेसिप्रोकल’ भन्सार दर लगाउनेगरी मंगलबार र बुधबार आफूले घोषणा गर्ने बताएका छन्। ‘रेसिप्रोकल’ भन्सार दर भनेको कुनै पनि मुलुकले अमेरिकी सामान आयातमा जति औसत भन्सार दर लगाउँछ, त्यो मुलुकबाट अमेरिकामा सामान आउँदा पनि त्यति नै भन्सार दर लगाउने भनेको हो।

अमेरिकामा औसत भन्सार दर एकदमै कम छ, र संसारका लगभग सबै मुलुकमा औसत भन्सार दर अमेरिकाको भन्दा धेरै छ। त्यसैले ट्रम्पले रेसिप्रोकल महसुल साँच्चै नै लागु गरे भने यसले संसारका लगभग सबै मुलुकलाई असर गर्नेछ।

ट्रम्पले भनेका छन्, ‘यदि उनीहरूले हाम्रा सामानमा महसुल लगाउँछन् भने हामी पनि उनीहरूका सामानमा त्यति नै महसुल लगाउँछौँ, यो सामान्य कुरा हो।’
विश्व व्यापार संगठनका अनुसार, अमेरिकाको औसत महसुल लगभग २.२ प्रतिशत छ, जबकि भारतको १२ प्रतिशत, ब्राजिलको ६.७ प्रतिशत, भियतनामको ५.१ प्रतिशत र युरोपेली संघका देशहरूको २.७ प्रतिशत छ।

युरोपेली संघले अमेरिकी कार आयातमा १० प्रतिशत महसुल लगाउँदै आएको छ तर अमेरिकाले युरोपेली कारहरूमा २।५० प्रतिशत मात्र महसुल लगाउँदै आएको थियो।

ट्रम्पले ‘रेसिप्रोकल’ महसुलबाट गरिब तथा अल्पविकसित मुलुकहरूले छुट पाउने कुरा अहिलेसम्म गरेका छैनन्। त्यसो हो भने नेपाललगायतका मुलुकबाट अमेरिका जाने सामानमा पनि महसुल दर बढ्न सक्नेछ।

ट्रम्पले स्टिल तथा आल्मुनियममा लगाउने थप २५ प्रतिशत भन्सार महसुलले भने सबैभन्दा धेरै उसका दुई छिमेकी र ठूला व्यापारिक साझेदारहरू मेक्सिको र क्यानडालाई असर गर्नेछ। अमेरिकामा स्टिल निर्यात गर्ने मुख्य देशहरूमा क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया र भियतनाम पर्दछन्। आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानडा हो। अमेरिकामा प्राथमिक आल्मुनियम धातुको सबैभन्दा ठुलो आपूर्तिकर्ता क्यानडा हो। उसले २०२४ को पहिलो ११ महिनामा अमेरिकाको कुल आयातको ७९ प्रतिशत ओगटेको थियो।

प्रकाशित मिति : २०८१, २८ माघ सोमबार ००:००  १० : १४ बजे