मकवानपुरको भीमफेदी गाउँपालिका- १ रातोमाटेस्थित त्रिभुवन राजपथ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनाका कारण उक्त सडकखण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ ।
हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बाेकेकाे इन्डियन बुलेट गाडी दुर्घटना भएको हो । आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण सडक एकतर्फी अवरुद्ध भएको हो ।
ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाइ छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेटका चालक र सहचालक दुवैजना सकुशल रहेका छन् ।
प्रवक्ता अर्यालले चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुन सक्ने बताए । उनले पल्टिएको ग्यास बुलेट उठाउन तीन–चार घण्टा लाग्ने जानकारी दिए ।
उक्त अवधिमा हेटौँडाबाट यस सडकखण्ड हुँदै काठमाडौं जाने सवारीसाधनहरूलाई कान्तिलोकपथ वा चिवतनतर्फको बाटो प्रयोग आग्रह गरिएकाे छ । प्रहरी प्रवक्ता अर्यालले ग्यास बुलेटबाट ग्यास लिक नभएको र लिक हुने सम्भावना पनि नरहेको बताए ।