स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् ।
उनले कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै नाजीवाद र फाँसीवादमा नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न आग्रह गरेका हुन् ।
“हामी ०७२को गणतान्त्रिक संविधानमा शासित छौँ । काठमाडौं सातै प्रदेशको राजधानी हो । काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको सुरुवात भएको थियो हिटलरबाट । त्यसरी नै प्रस्तुत हुँदैछन्,” अमरेशले भने, “हिजो माघ २७ गते कवाड व्यवसायीहरुमाथि डोजर चलाइयो । त्यहाँ मुस्लिम छ, दलित छ, काठमाडौंका पनि छन् । जो घाइते भएका छन् त्यहाँ कोही पनि शासक छैन ।”
“म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,” अमरेशले भने, “यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन ।”