कागेश्वरी मनोहरा नगरपालिका र राष्ट्रिय सहकारी बैंक बीच सहकारी सवलिकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ ।
जोरपाटी शाखाको समन्वयमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र राष्ट्रिय सहकारी बैंक लिमिटेड पुल्चोक, ललितपुर बीच सहकारी सम्बन्धी प्रोफाइल निर्माण कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जोरपाटी शाखाका प्रमुख आदर्श धमलाले अनालाइन सरोकारलाई बताउनु भयो ।
गत सोमबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र बैंकको तर्फबाट अधिकृत अनूजा सैंजूले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे हाे ।
सम्झौता अनुसार नगरपालिकाको क्षेत्राधिकार भित्रका ३० वटा सहकारी संस्थाको स्थलगत परीक्षण र समीक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । सहकारी संस्थाहरुको वित्तीय र गैर वित्तीय पक्षहरूको विस्तृत परीक्षण र समीक्षा कार्यक्रम गर्नको लागि द्वितीय पक्षले आवश्यक सूचकहरूको विकास गर्ने, द्वितीय पक्षले विकास गरेका सूचकहरूमा आधारित भई सहकारी संस्थाहरुको वित्तीय तथा गैर–वित्तीय पक्षहरूको स्थलगत परीक्षण गर्ने र परीक्षण कार्य सम्पन्न गरिसकेपछि संस्थाहरुको समूहगत रूपमा समीक्षा गोष्ठी सम्पन्न गरी समीक्षाको निष्कर्ष सहितको प्रतिवेदन उपलब्ध गराउने उल्लेख गरिएको छ ।
नगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाका क्षेत्रभित्रका सहकारी संस्थाहरुको क्षमता विकास तथा अनुगमन सम्बन्धी कार्यक्रम लागत साझेदारीमा बैंकसँगको समन्वयमा कार्यक्रम सम्झौता गरी कार्यान्वयन गर्दा नगरपालिका क्षेत्रका सहकारी संस्थाहरुको संस्थागत सुशासन र प्रवद्र्धनमा सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको भनाइ छ ।
सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, सहकारी शाखाका प्रमुख विश्वास ज्ञवाली, बैंकको सेवा महाशाखाका प्रमुख राम बाबु आचार्य, अधिकृतहरू सूर्य प्रसाद रिमाल, अनूजा सैंजू, बैंकको जोरपाटी शाखाका प्रमुख आदर्श धमला लगायतको उपस्थिति रहेको थियो ।
सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकले आधुनिक प्रविधि सेवा अन्तर्गत हाल आफ्नै ब्रान्डको ‘कोप कार्ड’ (एटिएम) इन्टरनेट बैंकिङ्ग, एसएमएस बैकिङ्ग, सिटिएस् सेवा र क्यु आर सेवा प्रदान गरी रहेको छ ।