ओखलढुंगा जिल्लाका ७ गाउँपालिकामा चिसङ्खुगढी गाउँपालिका स्थानीय तहको कार्यसम्पादनमा जिल्लाभरको सर्वोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा आर्थिक वर्ष २०८०/०८१ मा चिसुंखुगढी सर्वोत्कृष्ट भएको हो । गाउँपालिकाले ६७.३ अंक ल्याएको छ । सबैको सहकार्य र सहयोगले गाउँपालिकातर्फ जिल्लाको उत्कृष्ट गाउँपालिका बन्न सफल भएको गाउँपालिकाको अध्यक्ष निशान्त शर्माले बताउनुभएको छ ।
यस्तै जिल्लाको खिजिदेम्बा गाउँपालिकाले ५९.८, मानेभञ्ज्याङ गाउँपालिकाले ५५.६, लिखु गाउँपालिकाले ५४.३, सुनकोशी गाउँपालिकाले ५३.५, मोलुङ गाउँपालकाले ५१.१ र चम्पादेवी गाउँपालिकाले ४८.७ अंक ल्याएका छन् ।
एउटा मात्रै नगरपालिका भएको ओखलढुंगा नगरपालिकाले भने जिल्लाका सबै स्थानीय तहको भन्दा बढी ७५.१ अंक ल्याएको छ ।
स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।