स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा बागलुङको बडिगाड गाउँपालिका यस वर्ष पनि जिल्लामै उत्कृष्ट भएको छ । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै गाउँपालिका जिल्लाका १० स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको हो ।
जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा आर्थिक वर्ष २०८०/०८१ मा ७६.५ प्रतिशत अंक प्राप्त गर्दै बडिगाड गाउँपालिका जिल्ला प्रथम भएको हो ।
बडिगाडले कुल १०० पूर्णाङ्क मध्ये योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८३.३३ प्रतिशत, कार्यान्वयन क्षमता व्यवस्थापनमा ७९.३१ प्रतिशत, लेखाङ्कन प्रतिवेदनमा ८२.३५ प्रतिशत, अनुगमन, मूल्याङ्कन तथा लेखा परीक्षणमा ६५.६३ प्रतिशत र राजस्व व्यवस्थापनमा ६७.६५ प्रतिशत अंक तथा समग्रमा ७६.५ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला समन्वय समितिले मूल्यांकन गरि अन्तिम नतिजा प्रकाशन गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० मा पनि बडिगाड गाउँपालिका ७५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थानमा थियो । गाउँपालिकाले आफ्नो कार्यलाई अझै सुधार गर्दै समग्रमा नतिजा पनि सुधार गरी जिल्लामै अब्बल सावित गर्न सफल भएको हो ।
सो मूल्यांकन अनुसार जिल्लाको जैमिनी नगरपालिकाले ७६ अंक, बागलुङ नगरपालिकाले ७५.५ अंक, तमानखोला गाउँपालिकाले ७१ अंक, ताराखोला गाउँपालिकाले ७०.५ अंक, बरेङ गाउँपालिकाले ६९ अंक, गलकोट नगरपालिकाले ६६.५ अंक, निसीखोला गाउँपालिकाले ६५.५ अंक र काठेखोला गाउँपालिकाले ७५ अंक प्राप्त गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको छ । बडिगाड अध्यक्ष गण्डकी थापा अधिकारीले आगामी आ.व.मा अझ राम्रो अंक आउने गरि काम गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको अथक मेहनत र प्रयासका कारण जिल्लामै उत्कृष्ट हुँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
यो मूल्यांकन पालिकाहरुले अघिल्लो आर्थिक वर्षमा गरेका वित्तीय सुशासन र सदाचारीको आधारमा गरिएको हो ।
यसका लागि मूल्यांकनका विषय क्षेत्रमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन रहेका छन् । यिनै विषयलाई अंकभार दिँदा सबैभन्दा बढी भएपछि बडिगाड गाउँपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको हो ।