निरन्तर प्रयास र अनुशासनले भविष्यमा सफलता दिलाउन सरोकारवालाहरूले बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरूले यसलाई महत्त्वपूर्ण अवसरका रूपमा हेर्न र भविष्यमा थप मिहिनेत गरेर सफल हुन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्र्तगतको बैंकिङ क्षेत्रमा जागिर गर्दै नयाँ सीप र ज्ञान प्राप्त गर्ने अवसरहरूको महत्त्वमा प्रकाश पारे । उनले भने, “बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको छ । यहाँ काम गर्दा तपाईंले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ।”

उनले बैंकिङ क्षेत्रका चुनौतीहरूको विश्लेषण गर्दै भने, “बैंकिङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भइ जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ।”
थापाले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताए । “यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने, तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधि सम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनु पर्छ। यससँगै ग्रीन फाइनान्स र म्याक्रो फाइनान्स जस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,”उनले भने ।
कार्यक्रममा संस्थाका प्रशिक्षक मेक सुवेदीले निरन्तर प्रयास र कडा मेहनतले सफलता प्राप्त गर्न सकिने कुरा बताए । उनले विद्यार्थीहरूलाई संस्थामा प्रवेश गरेपछि जिम्मेवार भएर काम गर्न र संस्थाको समग्र विकासमा योगदान दिनका लागि प्रेरित गरे । “तपाईंहरूले संस्थामा जानेपछि आफ्नो कार्य क्षेत्रमा जिम्मेवार र सक्रिय भएर काम गर्नुहोस्, यसबाट मात्र तपाईंको व्यक्तिगत र पेशागत उन्नति सम्भव हुनेछ,” उनले भने।
त्यस्तै अर्का प्रशिक्षक हिम खनालले उडान शैक्षिक केन्द्रको समर्पित अनुभव सँगै संस्थाको महत्त्वपूर्ण भूमिका र योगदानको चर्चा गरे । “उडान शैक्षिक केन्द्रले मलाई उच्चस्तरीय शिक्षा र प्राविधिक सीपका साथ सक्षम बनाएको छ । यस संस्थाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कुनै सम्झौता नगरी उनीहरूको भविष्य निर्माणमा ठोस आधार तयार गरेको छ,” उनले भने।
प्रशिक्षक प्रजिव तिमिल्सनाले सफलता हासिल गरेका विद्यार्थीहरूलाई शुभकामना र बधाई दिँदै आगामी दिनहरूमा अझ बढी सफलता हासिल गर्नका लागि निरन्तर मिहिनेत र परिश्रम गर्न आग्रह गरे। उनले भने,“सफलता एक निरन्तर यात्रा हो, जसको अन्तिम गन्तव्य केवल कडा मेहनत र निरन्तर प्रयासबाट मात्र प्राप्त गर्न सकिन्छ। त्यसैले म तपाईंलाई यो अपिल गर्न चाहन्छु कि मिहिनेत गर्नुहोस्, जुन सफलताको साँचो कुञ्जी हो।”
अर्का प्रशिक्षक तिलक महराले पछिल्लो समय ‘देशमा अवसर छैन’ भन्ने धारणा बलियो बनेको उल्लेख गर्दै यो धारणा गलत साबित गर्न विद्यार्थीहरूले मिहिनेत गर्नुपर्ने बताए । उनले निरन्तर प्रयासले सफलता हासिल गर्न सकिने भन्दै संस्थाले थप भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका अन्य प्रशिक्षकहरूले पनि निरन्तर प्रयास, कडा मेहनत र सकारात्मक सोचको महत्त्वमा जोड दिँदै विद्यार्थीहरूलाई सफलताको लागि प्रेरित गरे । त्यस्तै वाग्मती प्रदेशको चौथो तहमा नाम निकाल्न संघर्ष गरेर नाम निकालेका नवीन पुरीले आफूलाई बैकिङ क्षेत्रमा जागिर खान सफल बनाउन उडान शैक्षिक केन्द्रले ठूलो सहयोग गरेका बताए ।उनले केन्द्रले उनलाई आफ्नो लक्ष्यतर्फ बढ्न र सफलता प्राप्त गर्नका लागि मार्गदर्शन र प्रशिक्षण दिएको बताए ।
“उडान शैक्षिक केन्द्रले मेरो संघर्षलाई सफलतामा परिणत गर्न महत्वपूर्ण भूमिका खेल्यो ।यहाँका प्रशिक्षकहरूको निरन्तर मार्गदर्शन र प्रोत्साहनले मलाई आत्मविश्वासका साथ अघि बढ्न मद्दत पुर्याएको छ,” उनले भने ।
उडान शैक्षिक केन्द्र, जसले देशभरका विद्यार्थीहरूलाई लक्षित गर्दै २०७६ सालमा स्थापना गरेको थियो, आजका दिनमा एक सफल र प्रतिष्ठित संस्थाका रूपमा पहिचान बनाइसकेको छ। आज आयोजित सम्मान कार्यक्रममा करिब ३० जना विद्यार्थीहरूले गण्डकी, कोशी, मधेश र बागमती प्रदेशबाट एकैपटक नेपाल सरकार अन्तर्गतका वाणिज्य बैंकमा नाम निकाल्न सफल भएका छन्। यी विद्यार्थीहरू उडान शैक्षिक केन्द्रका विद्यार्थीहरू हुन्, जसले आफ्नो कडा मेहनत र प्रयासबाट यो सफलता हासिल गरेका छन् ।
