स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा बागलुङको बडिगाड गाउँपालिका यस वर्ष पनि जिल्लामा उत्कृष्ट भएको छ । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै जिल्लाका १० स्थानीय तहमध्ये बडिगाड उत्कृष्ट ठहरिएको हो ।
नीति, योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन जस्ता सुचकमा रहेर काम गरेको कारण स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा बडिगाड गाउँपालिका जिल्लामै निरन्तर विगतका वर्षहरु देखि प्रथम हुँदै आएको गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले अनलाइन सरोकारलाई बताइन् । कार्यपालिका र कर्मचारीहरुकाे जिम्मेवार कामले याे नतिजा प्राप्त भएकाे अध्यक्ष अधिकारीकाे भनाइ छ ।
नागरिकको स्वस्थ्य जाँच तथा उपचार सेवा सहज र गुणस्तरीय बनाउँदै पालिका भित्रै स्वास्थ्य उपचारको आधारमूत व्यवस्था मिलाएको बडिगाडले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
बडिगाडमा स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउँदै औषधीको पर्यााप्त व्यवस्था गरिएको छ । प्रसुतिगृह मार्फत सुरक्षित सुत्केरी सेवा प्रवाह भईरहेको छ ।
पोषणमैत्री पालिका बनाउन तीन वर्ष देखि पोषणका कार्यक्रम सञ्चालनमा छन् ।
पालिकाभित्र रहेका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति अनुसार सबै नागरिकको गाउँटोलमा पुगेर स्वास्थ्य बिमा गर्ने गरिएको छ ।
गाउँपालिकाले एकीकृत ग्रामीण स्वास्थ्य सेवा कार्यक्रम मार्फत गाउँपालिकाका स्वास्थ्यकर्मीहरू बस्ती र टोलटोलमा पुगेर नागरिकहरुलाई विभिन्न स्वास्थ्य सेवा र स्वास्थ्य सचेतना प्रदान गरिरहेका छन् ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोग रोकथामको लागि टोल टोलमा गएर विशेषज्ञ डाक्टरहरुबाट उपचार तथा परामर्श सेवा दिने गरिएको छ ।
गाउँमै विशेषज्ञ डाक्टरको स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले विभिन्न वडामा वर्षेनी शिविर सञ्चालन गर्ने गरेको छ ।
बडीगाड गाउँपालिका २०७५ सालमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको थियो । पूर्ण खोप कार्यान्वयको अभियानले निरन्तरता पाइरहेको छ ।
जनपक्षिय काम गर्दै आएका बडिगाडका जनप्रतिनिधि र नीति अनुरुप कार्यसम्पादन गर्ने यो पालिका विभिन्न क्षेत्रबाट भएका मुल्याङ्कनमा उत्कृष्ट बन्दै आएको छ ।