ललितपुर जिल्लाको बागमती गाउँपालिकाले शैक्षिक क्षेत्रमा बालबालिकाको अध्ययन र अध्यापनमा सुधार ल्याउनका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपाल सरकारको दिवा खाजाा कार्यक्रमलाई दिगो बनाउन, गाउँपालिकाले कृषि प्राविधिक र काली देवी माविमा अध्ययनरत विद्यार्थीहरूको मद्दतमा विद्यालयमा नमुना करेसा बारी निर्माण र स्थानीय पाठ्यक्रमको पूर्णता र अध्यापनमा सुधारको लागि कार्यक्रम सञ्चालन गरिएको बागमती गाउँपालिकाका अध्यक्ष विर बहादुर लोप्चनले अनलाइन सरोकारलाई बताउनु भयो ।
गाउँपालिका अध्यक्ष विर बहादुर लोप्चनका अनुसार, “सफाइ, खुवाइ, पढाइ र सिकाइ“ भन्ने अवधारणासहित कार्यक्रमलाई अघि बढाइएको छ र “हाम्रो खाद्य टोकरी हामी आफै भन्छौँ“ भन्ने नाराका साथ विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागितामा नमुना करेसा बारी निर्माण गरिएको छ। साथै, प्रत्येक विद्यालयमा अनिवार्य नर्श कार्यक्रम सञ्चालन गरिएको छ।
त्यस्तै, स्वास्थ्य प्राविधिकहरूको तालिका बनाइ विद्यालयहरूमा सरुवा रोग नियन्त्रण र स्वास्थ्य जाँचका कार्यक्रम पनि अघि बढाइएको छ। अध्यक्ष लोप्चनले वडास्थित स्वास्थ्य प्राविधिकलाई विद्यालयमा अनिवार्य स्वास्थ्य सेवामा परिचालन गरिरहेको बताएका छन्।
विर बहादुर लोप्चनको नेतृत्वमा बागमती गाउँपालिकामा कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा विभिन्न विकासका कार्यहरू तीव्र गतिमा अघि बढेका छन्। सडक र पुल निर्माणको कार्यसमेत तीव्र गतिमा भइरहेको जानकारी दिँदै अध्यक्ष लोप्चनले यसलाई गाउँपालिकाको समृद्धि र विकासको मुल आधार भनेका छन्।
गाउँपालिकाले आगामी दिनहरूमा विभिन्न नयाँ योजनाहरू पनि कार्यान्वयन गर्ने उद्देश्य राखेको छ।