बाग्लुङको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । गाउँपालिकाले ६ वटै वडाका महिलाहरुलाई सिप सिकाएर उद्यमसँग जोडेको हो ।
विगतमा घरायसीकाममा सिमित यहाँका महिलाहरु स्थानीय सरकारको साथ पाएपछि अहिले महिलाहरुले सिप सिकेर लघुउद्यमी बनेका छन् । सिप मुलक तालिम लिएका महिलाहले कपडा उत्पादन, बुटिक सिलाई, साबुन तथा सरफ उत्पादन, सिस्नोको पाउडर, डालो र डोको लगायतका सामँग्री उत्पादन गर्दै आएका छन्् ।
दुई ÷ चार वर्ष अगाडिसम्म चुलो र चौकोमा मात्रै सीमित रहेका तमानखोलाका महिला अहिले उद्योगमा व्यस्त हुन थालेका छन् । आफु आत्मनिर्भर बन्दै अरुलाई पनि रोजगारी दिन सक्षम बनेका छन् ।
तमानमा उत्पादन भएका सामाग्रीले बजार पाउन थालेको छ । तमान गाउँका महिलाहरुले झोला, सल, सुइटर, टोपी, गम्छालगायतका सामाग्री उत्पादन गरेर विक्रि गर्दै अर्थोपार्जन गरिरहेका छन् ।
गाउँपालिकाले सिप मुलक तालिम दिएपछि स्थानीय महिलाहरुको दैनिकीनै बदलिएको छ । विहान बेलुका घरको काम धन्दा गरेर दिउँसोको समय कपडा उत्पादन र विक्रिको काम गरिरहेका छन् ।
अहिले गाउँपालिकाको सबै वडाका महिलाहरु कुनै न कुनै उद्यममा आवद्ध भएर काम गर्दै आएका छन् ।
तमानका सबै वर्गका नागरिकको आयस्रोतको माध्यम बनाएर गरिवी न्यूनिकरण गर्न गाउँपालिकाले नीतिगत रुपमै उत्पादन र आयआर्जनका कार्यक्रमलाई जोड दिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले अनलाइन सरोकारसँग बताए । स्थानीय उद्यमीले उत्पादन गरेका सामग्री प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको उत्पादित सामाग्रीको बजारीकरणमा समेत पालिकाले सहयोग गरेर नव उद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष बुढाको भनाई छ ।
गाउँपालिकाले लक्षित वर्ग विशेष कार्यक्रमलाई उत्पादन र आयआर्जनसँग जोडेसँगै पहिले दुई÷चार पैसा आवश्यक पर्दा परिवारकै मुख ताक्नु पर्ने बाध्यता अन्त्य गर्दै तमानका युवा, महिला र अपाङ्गता भएका व्यक्तिले समेत अहिले आफैं कमाएर खर्च धान्न सक्ने भएका छन् ।