
काठमाडौं । नेपालमा कोरोना बीमा गर्नेको संख्या बढेको छ । संक्रमितको संङ्ख्या बढ्दै गएसँगै कोरोना बीमा गर्नको संख्यामा पनि वृद्धि भएको हो ।
कोरोना भाईरस विश्वमा महामारीकोे रुप लिएर फैलिएपछि नेपालमा विभिन्न कम्पनीले वैशाख ७ गते देखि कोरोना बीमा कार्यक्रम ल्याएका थिए । सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनेको छ ।
समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत नागरिकमा बीमा पुगेको छ । कोरोना बीमाले गाउँगाउँसम्म लहर ल्याएर सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारि दिए ।
कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपैंया गरी दुई प्रकारको बीमाङ्क तोकिएको छ । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको छ ।
यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाखका लागि छ सय र ५० हजारको लागि तीन सय शुल्क लाग्ने छ ।
बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने छ ।
कोरोना बीमा गरेको १५ दिनपश्चात् कोरोना देखिएमा मात्रै दाबी भुक्तानी गर्न सकिने तथा दाबी भुक्तानीका लागि पीसीआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्ने नियम छ ।












