बाजुराको हिमाली गाउँपालिकाले जल पर्यटन प्रवर्द्धनको सम्भाव्यता पहिल्याएको छ । रारा, रानीसैन, बढिमालिका र बुढिनन्दाको बीचमा पर्ने हिमाली गाउँपालिकाले यसक्षेत्रको जलपर्यटन प्रवर्द्धन गरेको हो ।
रानीसैनको काखमा अवस्थीत हिमाली गाउँपालिकाले रानीसैन भएर बहने कुवाडी र माथिल्लो कर्णाली नदिमा जल पर्यटन प्रवर्द्धन गरेको हो ।
हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर देखि तिलुचौरसम्म अहिले नियमित र्याफ्टीङ सञ्चालनमा आएको छ ।

हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कर्णाली नदिमा र्याफ्टीङको आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
र्याफ्टीङको मज्जा लिन आउने पर्यटकको संख्या बढाएर यस क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्न गाउँपालिकाले मेला महोत्सवजस्ता कार्यक्रम आयोजना गर्नेगरेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीको भनाई छ ।
कुवाडीदेखि कर्णाली हुँदै चितवनसम्म मोटरबोट सञ्चालन गर्ने दिर्घकालिन लक्ष्य राखिएको छ ।
पर्यटनको प्रचुर सम्भावना भएको हिमालीलाई पर्यटन विकास गरेर आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य अनुसार काम गरिरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको भनाई छ ।
सुन्दर रानीसैन, बाजुरा र हुम्लाको सिमाना भएर बग्ने स्वच्छ कुवाडी नदि र माथिल्लाे कर्णाली नदिमा जलपर्यटन र जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । त्यहि सम्भावनालाई टेकेर यहाँको स्थानीय सरकारले समद्धिको यात्रा तय गरिरहेको छ ।

स्वच्छ हावापानी भएको यो क्षेत्र मौलिक नेपालीपनमा रम्न र केही दिन घुम्नका लागि निकै उपयुक्त गन्तव्य बन्न सक्छ ।