कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नं १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो । यसअनुसार वडा नं १ मा २५ वटा र वडा नं ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ ।
बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन् । वडा नं ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा हुनुहुन्छ । “वर्षात्को समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ । डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ”, उहाँ भन्नुहुन्छ, “उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन । सुरक्षित छु भन्ने आभास हुने छ ।”
सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि कच्ची माटोको घरमा बस्दै आएको उहाँको परिवारले सुरक्षित आवास पाउन लागेको हो । “विगतजस्तो समस्या अब आउने छैन । घरको खाद्यान्न बाढीले बगाउने छैन । घरका भाँडाकँुडा सुरक्षित रहनेछन्”, उहाँ भन्नुहुन्छ, “बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन् । परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ ।”
विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ । आवास निर्माणका लागि प्रतिघर रु तीन लाख नगरपालिकाले व्यहोर्ने छभने रु दुई लाख ५० हजार सहयोगी संस्थाले व्यहोर्ने छ । त्यसमा करिब रु एक लाख ६५ हजार लाभान्वित परिवारले बेहोर्नुपर्ने छ । वडा नं ८ मा निर्माण हुने २० वटाको लागतमा सहयोगी संस्थाले प्रतिघर रु दुई लाख ६५ हजार लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिनुभयो ।
सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन् । बाहिर बरण्डा रहने छभने शौचालय रहने छ । तर वडा नं १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताउनुभयो । “नगरपालिकाको समन्वयमा यसभन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ ।” सम्झौताअनुसार असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ । “स्थानीय सरकार र गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर कैयौँ विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ र गरिरहेका छौँ ।” उहाँ भन्नुहुन्छ, “सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई सरकार छ भन्ने अनुभूतिको प्रयास गरिरहेका छौँ ।”
नेटवर्कले भने कैलालीमा मात्र एक सयभन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ । कैलाली र कञ्चनपुर गरी एक सय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ । उहाँका अनुसार कैलारी गाउँपालिकामा २७, घोडाघोडी नगरपालिकामा २२ र बर्दगोरिया गाउँपालिकामा १२ घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।