म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेका हुन् । भण्डारीले ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेका छन् ।
‘कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,’ उनले भने ‘स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।’ मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा)लाई रु. दुई सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन रु. एक सय ३० मूल्य कायम गरिएको छ ।
काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताए । उनले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएका छन् ।
३७ वर्षीय भण्डारी रोजगारीका लागि छ वर्ष मलेसिया, दुई वर्ष कतार, दुई महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किएका हुन् ।