काठमाडौंको तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनको नामबाट अख्तियारमा नक्कली उजुरी दर्ता भएको छ । नेपाली कांग्रेसका नेता एवं नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले काठमाडौंको तारकेश्वर नगरपालिका– ९, मनमैजुमा सरकारी जग्गा हडपेको र उक्त जग्गा नेपाल सरकारका नाममा फिर्ता गराई संरक्षण गर्न नगरपालिकाका नाममा आदेश जारी गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा नगरप्रमुख महर्जनका नामबाट उजुरी पुगेको छ । तर त्यो उजुरी मेयर महर्जनले गरेका होइनन् ।

२०८१ चैत्र १ गतेको मितिमा लेखेको उजरी अख्तियारले २०८१ चैत्र २ गतेको मितिमा दर्ता गरेको छ । २ गते शनिवार हो । अख्तियारको दर्ता नम्बर -C053676 को उजुरी शनिवारको मितिमा १ गते नै दर्ता भएको छ त र उक्त उजुरीमा मेयर महर्जनको नाम छ, हस्ताक्षर छैन ।
हस्ताक्षर बीनाको, सरकार प्रमुखको नाम जोडेर आएको व्यहोरा समेत नमिलेको खेस्रा निवेदन दर्ता गरेर प्रकृयामा जानु अख्तियारकै गम्भिर त्रुटी भएको नगरप्रमुख महर्जनले बताए ।
उक्त जग्गाको विषयमा आवाज उठिरहेको भएपनि आफ्नो त्यसमा संलग्नता नरहेको र अख्तियारमा आफुले उजुरी नगरेको स्पष्ट पार्दै मेयर महर्जनले आफ्नो राजनीतिक सामाजिक जीवनमा असर पार्नेगरी चरित्र हत्या गर्न खोजिएको बताए ।
आफ्नो नाममा फण्डा रच्ने र अनर्गल प्रचार गर्ने विरुद्ध कानूनी कारबाहीका लागि प्रकृया अघि बढाउने मेयर महर्जनले बताएका छन् ।
यस विषयमा उनले अख्तियारलाई समेत लिखित ध्यानाकर्षण गराउने भएका छन् ।