२०८१, २६ चैत्र बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश सरकारको ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ काभ्रेमा कार्यान्वयन



बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण अभियानअन्तरगत समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत चालु आर्थिक वर्षमा ११ कार्यक्रम रहेकोमा हालसम्म सातवटा सम्झौता भई काम थालनी भएको छ । बाँकी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत जिल्लाको महभारत गाउँपालिका–५ र खानीखोला–२ मा कफीखेती कार्यक्रम लागू भइसकेको छ, भने बेथानचोक गाउँपालिका–२ मा तरकारीखेती यस हप्ता सम्झौता गरिएको छ । वडास्तरमा सञ्चालित यस कार्यक्रममा कृषि कार्यालयको कार्यालय प्रमुख कुलप्रसाद दवाडी र स्थानीय तहको तर्फबाट जन्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

प्रदेश सरकारले कार्यालयमार्फत पहिलो पटकका लागि बेथानचोक–२ का लागि रु ६६ लाख ९९ हजार एक सय ९६ बराबरको कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको हो । गाउँपालिकाले २० प्रतिशत अर्थात् रु १३ लाख ३३ हजार तीन सय ४० तथा बाँकी २० प्रतिशत अर्थात् रु १३ लाख ६९ हजार आठ सय ३९ समूहले योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

गाउँपालिकाले ब्यहोर्ने रकम बापतको रु १३ लाख ३३ हजार तीन सय ४० प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा जम्मा भइसकेको जनाइएको छ । कार्यविधिअनुसार बेथानचोकमा महाभारत किसान समूहसँग अधिकतम् पाँच वर्षसम्म कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ ।

यसका लागि समूहले पाँच वर्षसम्मको कार्यक्रम र कार्ययोजना तयार गरिसकेको गाउँपालिका अध्यक्ष भगवान घिमिरेले बताए । हाललाई तरकारी उत्पादन प्रविधिमा आधारित क्रियाकलाप बाँस र फलामका प्लाष्टिक हाउस निर्माण, उन्नत बीउबिजन, मलखाद, स्थलगत तालिमलगायतका कार्य समावेश छ । आउँदो वर्षमा भण्डारणलगायतका बजारीकरणका थप क्रियाकलापमा जोड दिइने छ ।

कार्यालयका अनुसार अन्य दुई स्थानीमध्ये तह पनौती नगरपालिका–५ तथा भुम्लु गाउँपालिकाको १ नं वडामा उक्त कार्यक्रम लागू गरिएको छ । कार्यक्रम अनुसार पाँच वटा वडामा छ सय रोपनी जमिनमा तरकारी, कफी तथा किबी उत्पादनको काम गरिएको छ । कृषि विकास कार्यालय, स्थानीय तह तथा लाभग्राही समुदाय एवं सहकारीबीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो ।

पनौती र बेथानचोकमा तरकारी, महाभारत र खानीखोलामा कफी तथा भुम्लुमा किबी उत्पादनका लागि छनोट भएका हुन् । कार्यक्रम सञ्चालननार्थ स्थानीय सहकारी संस्था एवं समुदायको समूहसँग सम्झौता गरिने छ । कार्यक्रमअन्तरगत एउटा वडाका लागि रु ६७ लाखको हाराहारीमा उत्पादनकार्यमा लगानी भएका छन् ।

बागमती प्रदेश सरकारले चालु आवमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै ‘एक वडा–एक कृषि कार्यक्रम’ अन्तरगत पाँच वर्षका लागि पशुपक्षी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको हो । साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम अन्तरगत कार्यालयले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लागनी हुनेछ ।

प्रकाशित मिति : २०८१, २२ चैत्र शनिबार ००:००  ११ : ५२ बजे