प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रविन्दुमा राखेर भक्तपुर, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा आगामी वैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक भित्र्याउने उद्देश्यले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को चारवटै स्थानीय तहले प्रचारप्रसार गरेका छन् ।
नगरकोट भ्रमण वर्ष–२०८२ संयुक्त सचिवालयको आयोजना तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
नगरकोट आउने पर्यटकहरूको बसाइ लम्ब्याउँदै स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यसहित विभिन्न परिकार, पर्यटकलाई चखाउने योजना अनुरुप गाउँगाउँमा नमूना होमस्टे बनाइएको उनले बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकामा अहिले चार वटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रविन्दु बनाउन भ्रमण वर्ष मनाउन लागेको बताए ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकलाई बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताए ।
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए ।
मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताए ।
भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ । त्यसैगरी खानाका स्टलका साथमा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको सङ्ग्रहालय तथा प्रत्येक स्थानीय तहका छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने छ ।