
काठमाडौं । वीरगञ्जका निजी अस्पतालमा कार्यरत एक सय ५० जना चिकित्सकले आज मंगलबारदेखि काम नगर्ने भएका छन् । आफूहरुको माग पूरा नभएको भन्दै काममा हाजिर नहुने गरी उनीहरुले सामुहिक राजीनामा दिने निर्णय गरेका हुन् ।
मेडिकल अफिसर एसोसिएशन अफ वीरगञ्ज सङ्घर्ष समितिका अनुसार, उनीहरुले जिल्ला प्रशासन कार्याल, नेपाल चिकित्सक सङ्घ, एसोसियसन अफ प्राइभेट हस्पिटल इन्स्टिच्युशन अफ नेपाल र आफू कार्यरत अस्पतालमा सात दिनभित्र माग पूरा गर्न भन्दै गएको भदौ १ गते अल्टिमेटम दिएका थिए । चिकित्सकहरुले न्यूनतम ६५ हजार तलब हुनुपर्ने, २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य र जीवन बीमा गर्नुपर्ने, कार्यरत चिकित्सकलाई अस्पतालले नै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
सोमबार साँझसम्म माग सम्बोधन नभएपछि उनीहरुले विज्ञप्ति जारी गर्दै मंगलबारबाट सामूहिक राजीनामा दिने निर्णय गरेको मेडिकल अफिसर एसोसिएशन अफ वीरगञ्ज सङ्घर्ष समितिले जनाएको छ ।