२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले इरानका आणविक केन्द्रमा आक्रमण गरेपछि,इरानको जवाफी कदम के हुन्छ ?



अमेरिकाले इरानका आणविक केन्द्रमा आक्रमण गरेपछि मध्यपूर्वलाई अस्थिर अवस्थामा पुर्‍याएको विश्लेषण गरिएको छ । अब सबैको ध्यान इरानको जवाफी कदम के हुन्छ भन्नेमा केन्द्रित छ ।

आइतबार टर्कीको इस्तानबुलमा बोल्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशसँग अमेरिकी आक्रमणको जवाफ दिन धेरै विकल्प रहेको बताए । मध्यपूर्वका अमेरिकी सैनिक बेसहरूमा आक्रमण गर्नेदेखि विश्वव्यापी कच्चा तेल ढुवानीका निम्ति महत्त्वपूर्ण होर्मुज स्ट्रेट जलमार्ग बन्द गर्नेसम्म इरानले चाल्न सक्ने अर्को कदमबारे सोचिरहेको जनाइएको छ ।

अमेरिकी सैन्य बेसमा आक्रमण
यो युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले इराक, यमन र सिरियामा रहेका ‘प्रोक्सी’लाई सक्रिय बनाउन सक्ने विश्लेषण गरिएको छ । तिनले यसअघि अमेरिकी पूर्वाधारमा आक्रमण गर्दै आएका छन् । तर, इरानको प्रमुख सहयोगी हिजबुल्लाह इजरायली आक्रमणले कमजोर भएका छन् ।

इरानले यसअघि आफ्ना आणविक केन्द्रमा आक्रमण गरिए अमेरिकामाथि प्रतिशोधको धम्की दिएको थियो । मध्यपूर्वमा अमेरिकाका १९ स्थानमा करिब ४० हजार सैनिक छन् । इराकमा मात्र २५ सय अमेरिकी सैनिक छन् । त्यहाँ सन् २०२० मा इरानी मिसाइल आक्रमणबाट १०० भन्दा बढी सैनिकका टाउकामा चोट लागेको थियो

इरान समर्थित यमनको हुथी विद्रोहीले इजरायल–इरान द्वन्द्वमा सामेल भए रेड सीमा अमेरिकी जहाजमा आक्रमण गर्ने धम्की दिएको थियो । यसले उनीहरूबीच मेको युद्धविराम समाप्त गर्न सक्छ । विज्ञका अनुसार, इरानले इजरायल र अमेरिकालाई प्रत्यक्ष रूपमा पराजित गर्न नसक्ने भए पनि लामो र थकाउने युद्धको रणनीति अपनाउन सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो सुरुदेखि टार्न चाहेका थिए ।

विश्वव्यापी तेल व्यापारमा अवरोध
इरानले दैनिक २० मिलियन ब्यारेल तेलको महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्छ । त्यसले विश्व तेल बजारमा संकट ल्याउन सक्छ ।

इरानका सर्वोच्च नेताका सल्लाहकारले अमेरिकाको फोर्डो आणविक केन्द्रमा आक्रमणको जवाफमा मिसाइल हमला र स्ट्रेट बन्द गर्न आह्वान गरेका छन् । यो कदमले तेलको मूल्यमा वृद्धि, मुद्रास्फीति र ट्रम्पको आर्थिक योजनामा बाधा पुर्‍याउन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

आणविक बम
विज्ञले इरानको सत्ता परिवर्तन भए पनि आणविक बम बनाउन जारी राख्न सक्ने चेतावनी दिएका छन् । वासिङटनस्थित क्विन्सी इन्स्टिच्युटका कार्यकारी उपाध्यक्ष त्रिता पार्सीले इरान ५–१० वर्षभित्र आणविक हतियारसम्पन्न राष्ट्र बन्न सक्ने र अधिक कट्टरपन्थी सत्ताले बमलाई एक मात्र निवारक ठान्ने अनुमान गरेका छन् ।

इरानले इजरायली हमलाका क्रममा महत्त्वपूर्ण आणविक केन्द्रबाट विकसित युरेनियम भण्डार स्थानान्तरण गरेको विश्वास गरिन्छ । सिभिल आणविक प्लान्टले ३.५–५ प्रतिशत विकसित युरेनियम प्रयोग गर्छ । तर, योभन्दा उच्चस्तरले बम बनाउन सक्छ । इरान आफ्नो परामाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका निम्ति भएको जिकिर गर्छ ।

इजरायलविरुद्ध आक्रमण जारी राख्ने
आणविक केन्द्रमा अमेरिकी हमलाको जवाफमा इरानले इजरायलमा आक्रमण गर्‍यो । आक्रमणमा तेल अभिभमा ८६ जना घाइते भए । व्यापक अमेरिकी द्वन्द्व टार्न र ट्रम्पको संलग्नता सीमित गर्ने आशामा इरानले इजरायलमा मात्र ध्यानकेन्द्रित गर्न सक्छ ।

विज्ञका अनुसार, इरानको प्रतिशोध सन् २०२० मा सुलेमानी हत्याको जवाफमा जस्तै प्रतीकात्मक मिसाइल हमला हुनसक्छ । त्यति बेला अमेरिकी आधारमा चोट पुर्‍याएको थियो । तर, कसैको मृत्यु भएन । त्यसले इरानको इज्जत बचाउँछ, तनाव बढाउँदैन ।

साइबर हमला वा आतंकवादको सहारा
इजरायली हमलाबाट मिसाइल भण्डार कमजोर हुँदा इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण वा आतंकवादजस्ता रणनीति अपनाउन सक्ने विश्लेषक बताउँछन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कमजोर भए पनि क्षेत्रीय र विश्वव्यापी प्रभाव राख्ने भएकाले परम्परागत अमेरिकी प्रतिरक्षा कम प्रभावकारी हुने बताइन्छ ।

आणविक वार्ता
इजरायली र अमेरिकी आक्रमणबीच इरानले आणविक वार्ता रोकेको र कूटनीतिका निम्ति ठाउँ कम भएको विदेशमन्त्री अराघचीले बताए । इरानले आत्मरक्षाको अधिकारमा जोड दिएको छ । अराघचीले अमेरिकाले कूटनीति भत्काएको आरोप लगाए । र, विश्लेषकले हाललाई वार्ता लगभग समाप्त भएको अनुमान गरेका छन् । सीएनएनबाट ।

प्रकाशित मिति : २०८२, ९ असार सोमबार ००:००  ३ : ४२ बजे