खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ८० करोड १८ लाख ८१ हजार ७ सय १९ रुपैंयाको बजेट ल्याएको छ । १७ औँ नगरसभामा उपप्रमुख रमेश कुमार राउतले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ८० करोड १८ लाख ८१ हजार ७ सय १९ रुपैंयाको बजेट प्रस्ताव गरेका हुन् ।

नगरसभामा नगरप्रमुख श्री विमला राईले पानी, पर्यटन, पूर्बाधार र रोजगारीलाई प्राथमिकता दिएर समृद्ध नगर निर्माणको नीति प्रस्तुत गरकी थिइन् । योजनावद्ध काम गर्नेक्रममा संघ र प्रदेश सरकारबाट समेत विगतको तुलनामा अपेक्षित बजेट ल्याउन सफल भएको बताउँदै नगरप्रमुख राईले आगामी वर्ष हलेसी तुवाचुङको विकासका लागि विशेष वर्ष बन्ने बताइन् । नगरप्रमुखले सभामा पेश गरेका नीति कार्यक्रममा स्थानीय उत्पादनको ब्राण्डिङ, बजारीकरण, कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउने, सीप मुलक तालिम र प्रविधि वितरण गरेर युवालाई गाउँमै उद्यमशिल बनाउने, मिसन रोजगारीलाई ठोस निश्कर्षमा पु¥याउने, टोलबस्तिसम्म दिगो विकासका योजनाहरु सञ्चालन गर्ने, हलेसी क्षेत्रका सबै पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गर्ने लगायतका महत्वाकांक्षी योजनाहरु समेटिएका छन् ।

चालु खर्चलाई कम गरेर पूँजीगत खर्चलाई समेत बढवा दिइने नगरप्रमुख राईले बताइन् । उनका अनुसार समावेशी विकास र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू , विभिन्न समुहहरु , आयआर्जन आधारित मज्यौला उद्योग ,साना मजदुर तथा उद्योगिहरु लक्षित दर्जनौं विषयहरु निती तथा कार्यक्रममा समेटिएका छन् । हलेसी तुवाचुङ नगारपालिको मुल समस्याका रुपमा रहेको खानेपानीको समस्या समधान गर्ने समेत लक्ष्य राखिएको नगरप्रमुख राईले अनलाइन सरोकारसँग बताइन् ।

सभामा विधायन समिति संयोजक एवम् वडा नं. २ का वडा अध्यक्ष श्री देवेन्द्र कुमार राईले आर्थिक विधेयक र विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गरेका थिए ।
हलेसी तुवाचुङको नगरसभामा स्थानीय सबै राजनितिक दलका नेता तथा नागरिकको उपस्थिति थियो ।

