ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले “साक्षर गाउँपालिका“ घोषणा गरेको छ । गाउँपालिकाले सबै वडाका १५ देखि ६० वर्ष उमेर समुहको साक्षरता तथ्याङ्क संकलन गरेर ९५ .५ प्रतिशत नागरिक साक्षर रहेको तथ्याङ्क सार्वजनिक गर्दै साक्षर गाउँपालिका घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष अस्मिता थापा विशेष अतिथिको रूपमा सहभागी थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरू, जिल्ला शिक्षा इकाई प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, गाउँपालिका शाखा प्रमुखहरू, कर्मचारी र अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।

लिखु गाउँपालिकाको १५ देखि ६० वर्ष उमेर समूहको ९५.५ प्रतिशत नागरिक साक्षर रहेको तथ्याङ्क शिक्षा शाखाले प्रस्तुत गरेको थियो । वडा स्तरमा खटिएका सर्वेक्षकहरूले गरेको तथ्याङ्क संकलनको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।
साक्षर घोषणा कार्यक्रमले लिखु गाउँपालिकालाई शिक्षामा अग्रसर स्थानीय तहको रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।