काठमान्डौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाले उपत्यकाकै बहुप्रतीक्षित प्रशासकीय भवन उद्घाटन गरेको छ । भवनको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले एक भव्य समारोहबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिमार्फत उपस्थित पाहुनाहरूलाई स्वागत गरे थिए ।
समारोहमा बोल्दै मन्त्री सिंहले कागेश्वरी मनोहरा नगरवासीको प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताए । उनले प्राकृतिक मैत्री नगर बनाउने अभियानमा जनप्रतिनिधि र जनताको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै सेवा प्रवाहमा वार्षिक मूल्याङ्कन र पारदर्शिता आवश्यक भएकोमा जोड दिए ।
उहाँले नेपाली कांग्रेसले ल्याएको संविधानबारे चर्चा गर्दै, “संविधान जारी गर्दा हामीले कस्तो सोचसहित ल्याएका थियौं भन्ने सम्झन जरुरी छ, गाली गर्न होइन, १७ साल र ४६ सालका सन्दर्भ उठाउँदै, गुमेको अधिकार जनताले पुनः प्राप्त गरेको दाबी गरे ।
सरकारमा हुँदा प्रतिपक्ष नेताहरूले के गरे ? भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने बताउँदै, “कुईएको आलु जनताले आफैं छान्नुपर्छ,“ भन्ने कटाक्ष समेत गरे । सबै नेतालाई एउटै कोटीमा राख्ने प्रवृत्ति गलत भएको भन्दै मिडिया ट्रायलको नाममा दण्डहीनता प्रोत्साहित नहुने चेतावनी दिए “विधिको शासन अन्तर्गत जो दोषी छन्, अनुसन्धानमार्फत कारबाही हुने जनकारी दिए ।

कार्यक्रममा अर्थ समितिका सभापति तथा सांसद सन्तोष चालिसेले नगरको विकासमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, युवामा बढ्दो विदेशिने प्रवृत्ति रोक्न सकिने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले नयाँ भवन जस्तै सेवाको गुणस्तर पनि सुन्दर र व्यवस्थित बनाउन आग्रह गरे ।
नगर प्रमुख उपेन्द्र कार्कीले भवन निर्माणपछि नगरको सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले आफू निर्वाचित भएयता शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, महिला उद्यम लगायत क्षेत्रमा उल्लेखनीय काम भएको उल्लेख गर्दै, आगामी दुई वर्षभित्र खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए।

उहाँले भवन निर्माणका क्रममा थलीको चउरको मर्यादा राखिएको र अब व्यवस्थित ढंगले अन्य क्ष्ोत्रमा खेलकुद मैदान निमार्ण गरिने जानकारी दिए । “काम गर्न भवन मात्र हैन, इमानदार सोच पनि चाहिन्छ,” उनकोे भनाइ थियो ।
उद्घाटन समारोहमा संघीय सांसद, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पूर्व मेयर, विद्यालयका प्र.अ, वडाध्यक्षहरू तथा नगरवासीहरूको बाक्लो उपस्थिति थियो ।

करिब १० करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवन वडा नं. ५ मा अवस्थित छ । निर्माण कार्य सम्पन्न हुन तीन वर्ष लागेको थियो ।
नगरपालिकाले यो भवनबाट सम्पूर्ण सेवा एकीकृत रूपमा प्रदान गर्ने तयारी गरेको छ ।
