२०८२, ७ आश्विन मंगलबार | Tue Sep 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध



हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए । ‘अहिले पानीको बहाव घट्ने क्रममा छ, घटेपछि यातायात सुचारु हुन्छ,’ उनले भने, ‘अहिले यातायात अवरुद्ध छ ।’

राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।

यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो ।

गत जेठ ३१ गते मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोलाको बेलिब्रिज निर्माण सक्ने भनिएकै दिन नै भाँचिएको थियो ।

बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति : २०८२, ५ श्रावण आइतबार ००:००  १० : ४४ बजे