जनकपुरको एक होटलमा बास बसेका महोत्तरीका २८ वर्षीय विमलेश यादवको छुरा प्रहारपछि ज्यान गएको घटनामा विवाहेत्तर सम्बन्ध र आर्थिक लेनदेन विवाद मुख्य कारण देखिएको छ । प्रहरीले विमलेशकी केटी साथीमाथि अनुसन्धान केन्द्रित गरेको छ ।
५ साउन, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने बिमलेश यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।
शनिबार राति ९ बजेर ५५ मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसीटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ । त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद छ ।
केहीबेरपछि प्रहरीहरु आएर घाइते यादवको बयान लिन्छन् । प्रहरीलाई बयान दिइसकेपछि यादव आफैं हिँडेर एम्बुलेन्स चढेको सिसिटीभी क्यामेरामा प्रष्ट देखिन्छ । आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।
यो घटनामा संलग्न भएको भन्दै धनुषा प्रहरीले महोत्तरीकै बलवा नगरपालिकाकी अन्दाजी २४ वर्षीया युवती जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा जुलीमाथि नै अनुसन्धान केन्द्रित छ । ‘योजनाबद्ध तरिकाले नै हत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ प्रहरी स्रोतले भन्यो ।