२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैसाको विवादले विमलेशको छुरा प्रहार गरी हत्या



जनकपुरको एक होटलमा बास बसेका महोत्तरीका २८ वर्षीय विमलेश यादवको छुरा प्रहारपछि ज्यान गएको घटनामा विवाहेत्तर सम्बन्ध र आर्थिक लेनदेन विवाद मुख्य कारण देखिएको छ । प्रहरीले विमलेशकी केटी साथीमाथि अनुसन्धान केन्द्रित गरेको छ ।

५ साउन, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने बिमलेश यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

शनिबार राति ९ बजेर ५५ मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसीटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ । त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद छ ।

केहीबेरपछि प्रहरीहरु आएर घाइते यादवको बयान लिन्छन् । प्रहरीलाई बयान दिइसकेपछि यादव आफैं हिँडेर एम्बुलेन्स चढेको सिसिटीभी क्यामेरामा प्रष्ट देखिन्छ । आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।

यो घटनामा संलग्न भएको भन्दै धनुषा प्रहरीले महोत्तरीकै बलवा नगरपालिकाकी अन्दाजी २४ वर्षीया युवती जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा जुलीमाथि नै अनुसन्धान केन्द्रित छ । ‘योजनाबद्ध तरिकाले नै हत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ प्रहरी स्रोतले भन्यो ।

प्रकाशित मिति : २०८२, ६ श्रावण सोमबार ००:००  ११ : ११ बजे