२०८२, १ भाद्र आइतबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोसीका सभामुख भन्छन्– विराटनगर प्रदेश राजधानीजस्तो भएन



कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले विराटनगर प्रदेश राजधानी भएर पनि पछि परेको बताएका छन् । मंगलबार कोसी प्रदेशसभा सचिवालयमा संसदीय मामिला पत्रकारहरूसँगको कुराकानीका क्रममा सभामुख विष्टले विराटनगरमा देखाउन लायक एउटा पनि ठाउँ नभएको उल्लेख गरे ।

‘‘राजधानी त बनाएका छौँ तर बाहिरबाट पाहुना आउँदा घुमाउन र देखाउन लायक एउटा ठाउँसमेत छैन,’’ उनले भने, ‘‘ऐतिहासिक पक्षलाई समेट्दै सहरी विकासमा प्रदेश सरकार र महानगरले पनि काम गर्नुपर्छ ।’’

विष्टले विराटकालीन इतिहासलाई पुनर्जीवित गर्न सरकारले काम गर्नुपर्ने सुझाव दिए । उत्खनन्‌का क्रममा फेला परेको विराट क्षेत्रलाई संरक्षण, प्रचार र हेर्न लायक बनाएमात्र पनि धेरै पर्यटक विराटनगर ल्याएर उनीहरूको बसाइ लम्ब्याउन सकिने विष्टले सुझाव दिए ।

‘‘दरबार क्षेत्र घुम्न आएका मानिसलाई पर्यटकीय सर्किट बनाएर सुनसरीको बर्जुताल लगेर केहीबेर अल्मल्याउन पनि सकिन्छ,’’ विष्टले भने ।

उनले धेरैले दार्जिलिङ, इलाम र कन्याम बस्ने योजनासाथ आउने गरेको तर विराटनगर प्राथमिकतामा नपर्ने गरेको सुनाए । झापा र सुनसरीमा रहेका धार्मिक क्षेत्रलाई विराटनगरसँग जोड्ने योजनासाथ काम गर्नुपर्ने सभामुख विष्टको सुझाव छ ।

विष्टले प्रदेशसभाको अबको बैठकमा प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले दर्ता गराएको गैरसरकारी विधेयक टेबुल गर्ने बताए ।

प्रकाशित मिति : २०८२, ७ श्रावण मंगलबार ००:००  ३ : ३१ बजे