सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । गाडीमा राखेर लैजाँदै गरेका दुई जर्सी गाई पनि मरेको अवस्थामा फेला परेको छ । दुई गाई चोट लागेको अवस्थामा जीवित भेटिएको प्रहरीले जनाएको छ ।
चार गाईसहित उक्त गाडी भक्तपुरबाट झापातर्फ जाँदै थियो । बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप शुक्रबार (साउन ९) बिहान करिब १२ः५० बजे सुनकोसी गाउँपालिका–६, शीतलपाटीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
गाडी मकवानपुरको मनहरी गाउँपालिका–४ का ३२ वर्षीय निरज रेग्मीले चलाएका थिए । उनी घाइते छन् । धुलिखेल अस्पतालमा उनको उपचार भइरहेको छ । उनका दाइ ३८ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको खुर्कोटका प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।
“सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचारका क्रममा मृत्यु भएपछि दाइ (धर्मराज रेग्मी)को शव पोस्टमार्टम गर्न सिन्धुली जिल्ला अस्पतालमा पठाइएको छ,” उनले भने ।
पिकअप गाडी बीपी राजमार्गबाट करिब ५०० मिटर तल खोचमा पूर्ण रूपमा क्षति भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।