काठमाडौँको चन्द्रगिरि नगरपालिका–११ स्थित जेसिस इन्टरनेसनल सेकेन्डरी बोर्डिङ स्कुलले ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत र १२ कक्षाका विद्यार्थीहरूलाई बिदाइ गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
शुक्रबार विद्यालय परिसर नजिकैको एक हलमा उक्त कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष रमेश चन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा चन्द्रगिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, वडा नम्बर ११ का अध्यक्ष तथा विद्यालयका बि.ब्य.स. नरेन्द्र राज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सरोज महर्जन, बागमती प्रदेश काठमाडौँ जिल्ला समितिकी अध्यक्ष रुपा थापा मगर, नगरका शिक्षा अधिकृत, युनिक्याम्पसका अध्यक्ष निसान महर्जन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक अध्यक्ष श्रेष्ठले निजी विद्यालयप्रति समाजमा भइरहेको भिन्न धारणाप्रति चिन्ता व्यक्त गर्दै, “निजी विद्यालयमा पनि नगरका भोटरका छोराछोरी पढ्छन्, त्यसैले सरकार र सरोकारवाला निकायले विभेदपूर्ण व्यवहार गर्नुहुदैन,” भन्ने धारणा राख्नुभयो। उहाँले जेसिस स्कुल सधैं शिक्षासँगै विविध क्रियाकलापमा अग्रणी रहेको जानकारी दिँदै कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत र कक्षा १२ का विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामनासहित बिदाइ गर्नुभयो।
नगर प्रमुख घनश्याम गिरीले जेसिस स्कुललाई अब्बल र ऊर्जावान विद्यार्थी उत्पादन गर्ने शिक्षाको थलो भन्दै नगरपालिकाले भविष्यमा स्कुललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै, नरेन्द्र राज श्रेष्ठ, रुपा थापा मगर, शिक्षा अधिकृत र शिक्षकहरूले विद्यार्थीहरूलाई सही मार्गमा अघि बढ्न प्रेरणादायी मन्तव्य राख्दै, शैक्षिक मार्गदर्शनका सन्देशहरू दिएका थिए।
कार्यक्रमलाई झनै आकर्षक बनाउँदै विभिन्न साँस्कृतिक प्रस्तुतीहरू पनि आयोजना गरिएको थियो। विद्यार्थीहरूले नृत्य, गीत तथा अभिनयमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।












