नेपाली संगीतप्रेमीहरुको लागि खुसीको खबर – लोकप्रिय रचनाकार दामोदर सुवेदीको रचना र नेपाल आइडल सिजन २ का उत्कृष्ट गायक पवन गिरीको मिठासपूर्ण आवाजमा सजिएको गीत “फर्क गाउँघर सम्झेर” सार्वजनिक भएको छ। जीवनका ती अविस्मरणीय स्मृति, बाल्यकालका ती निर्दोष पल, माटोको सुगन्ध र गाउँघरको आत्मीय सम्बन्धको गहिरो भाव बोकेको यो गीत अहिले युट्युबमार्फत श्रोतामाझ ल्याइएको छ।
गीतले विशेषतः परदेशमा रहेर आफ्नो जन्मथलो, आमाबुबा, साथीभाइ, खेतबारी र पुराना दिनहरूको सम्झनामा आँखा रसाउने लाखौँ नेपालीहरूको मन छोएको छ। आधुनिकताको दौडमा शहरतिर भौंतारिएका नेपालीहरूलाई फेरि गाउँ फर्कने भावनाले यो गीत भावुक बनाएको छ।
गीतका रचनाकार दामोदर सुवेदी नेपाली साहित्य र संगीत क्षेत्रका गम्भीर सर्जक हुन्। उनले लेखेका शब्दहरूमा सरलता छ, तर त्यस भित्रको गहिरो अर्थ र भावना अत्यन्तै बलियो छ। ‘फर्क गाउँघर सम्झेर’ भन्ने शीर्षक नै आफैँमा एक कथा हो – जुन धेरै नेपालीको जीवनसँग जोडिएको छ।
यस गीतमा स्वर दिएका पवन गिरी, जसले नेपाल आइडल सिजन २ मा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हात पारेका थिए, अब व्यावसायिक संगीत यात्रामा निरन्तर सक्रिय छन्। पवन गिरीको स्वर सधैं श्रोताको मनमा गहिरो छाप पार्ने खालको छ, र यस गीतमा त झनै उहाँको गायन शुद्ध भावनाले भरिएको छ।
गीत सार्वजनिक भएपछि गायक पवन गिरीले आफ्नो अनुभूति यसरी व्यक्त गरे :
“फर्क गाउँघर सम्झेर गीत मलाई अत्यन्तै आत्मीय लाग्यो। रेकर्डिङको क्रममा मैले आफ्नै बाल्यकाल सम्झिएँ – आमा–बुबाको काख, गाउँको बाटो, सँगै खेल्ने साथीहरू, धूलो माटो र थुप्रै ती मीठा सम्झनाहरू… गाउने क्रममा आँखा रसाएका थिएँ। यस्तो गीतमा आफूलाई दिन पाउँदा एकदमै खुसी महसुस भएको छ।”
उनले थपे , “म मेरो दर्शक र श्रोताप्रति आभारी छु। तपाईंहरूको माया, साथ र प्रेरणाले नै म अझ मेहनत गरेर नयाँ र मौलिक सिर्जना लिएर आउन प्रेरित हुन्छु। भविष्यमा अझ राम्रो गीतहरू तपाईँहरूसामु ल्याउने प्रतिबद्धता गर्छु।”
गीत सार्वजनिक भएको केही समयमै दर्शकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएको छ। युट्युबमा कमेन्टमार्फत श्रोताहरूले पवन गिरीको स्वरको तारिफ गर्दै गीतले आफूलाई “घरको याद दिलायो”, “आँखा रसाए”, “मन छुने गीत” जस्ता प्रतिक्रियाहरू दिएका छन्।
उक्त गीत D & D Entertainment ( https://youtu.be/igjxQ8hCboE?si=WBxNbooUx51PCjT3) को युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिन्छ ।












