पश्चिम बागलुङका मिर्गौला रोगबाट पीडित बिरामीहरूका लागि अत्यन्तै खुसिको खबर आएको छ । बडिगाड गाउँपालिकास्थित १५ शय्याको आधारभूत अस्पतालमा चाँडै डायलाइसिस सेवा सुरु हुने भएको छ, जसले यो क्षेत्रका बिरामीहरूलाई अब उपचारका लागि काठमाडौं वा पोखरा धाउन पर्ने अवस्था हट्नेछ ।
गाउँपालिकाको केन्द्र ग्वालीचौरमा १८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अत्याधुनिक अस्पताल यही साउन १ गतेदेखि सेवा सञ्चालनमा आएको हो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै मात्र अस्पताललाई १ करोड १ लाख ४४ हजार ८२० रुपैयाँ बराबरका पाँचवटा डायलाइसिस मेसिन हस्तान्तरण गरेसँगै सेवा प्रारम्भको अन्तिम तयारीमा जुटिएको गाउँपालिकाले जनाएको छ ।
यो सेवा सुरु गर्न सक्नु देशकै लागि एउटा उदाहरणीय सफलता भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले अनालइन सरोकारलाई बताउनु भयो । “डायलाइसिस सेवा प्रदान गर्ने सम्भवतः यो देशकै पहिलो आधारभूत अस्पताल हो, र यसले बडिगाड मात्र होइन, धवलागिरि अञ्चलसहित छिमेकी जिल्ला गुल्मी, रुकुम र रोल्पाका बिरामीहरूलाई समेत राहत दिनेछ।“ उहाँले भन्नुभयो ।
उपकरण आए, अब जनशक्ति तयार हुँदै
हाल आवश्यक उपकरणहरू अस्पतालमा आइपुगेका छन् भने सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तयार पार्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। एक जना मेडिकल अधिकृत र तीन जना स्टाफ नर्सलाई विशेष तालिमका लागि पठाउने तयारी भइरहेको छ ।
डायलाइसिस सेवा सञ्चालनका लागि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरबीच एक वर्षअघि नै समझदारीपत्र भएको थियो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्षबीचको सहमतिअनुसार उपकरण प्राप्त गरिएको हो ।
ग्रामीण स्वास्थ्य सेवामा ऐतिहासिक फड्को
मध्यपहाडी पुष्पलाल लोकमार्गको नजिक अवस्थित यस अस्पतालले सडक दुर्घटनामा परेकाहरूलाई तत्काल सेवा दिने लक्ष्य समेत राखेको छ । अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुका रूपमा समेत सूचीकृत गरिएको छ, जसले स्वास्थ्य बीमाअन्तर्गतका सेवा लाभार्थीलाई थप सहज बनाउनेछ।
बडिगाड गाउँपालिकाले पहिलेदेखि नै आफ्ना सबै वडामा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइमार्फत सेवा दिँदै आएको थियो । अब डायलाइसिस जस्तो महत्त्वपूर्ण सेवा गाउँमै उपलब्ध भएपछि बडिगाडले ग्रामीण स्वास्थ्य सेवामा ऐतिहासिक फड्को मारेको छ ।
बडिगाड गाउँपालिकाको यो पहलले केवल सेवा विस्तार मात्र होइन, ग्रामीण स्वास्थ्य प्रणालीको रूपान्तरणको दिशा पनि देखाएको छ । मिर्गौला पीडितहरूका लागि गाउँमै उपचार उपलब्ध हुनु भनेको जीवनमै आशा देख्नु हो । यो खबर पश्चिम नेपालका हजारौं बिरामीहरूका लागि साँच्चै एक आशालाग्दो किरण बनेको छ ।












