२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीमा बहादुरसिंह लामा नेतृत्वको १ वर्षः के-के काम भए ?



बागमती प्रदेश सरकारको १ वर्ष नेतृत्व गरेका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको कार्यकालमा दशकौं नभएका हजारौं काम भएका छन् । लामा नेतृत्वको सरकारले १ वर्षको अवधिमा नीति निर्माण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक सेवालगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल गर्ने गरी काम गरेको हो ।

२०८१ साउन ९ गते मुख्यमन्त्री बनेका लामाले १ वर्ष अर्थात २०८२ साउन १८ गतेसम्म सरकारको नेतृत्व गरेर पछिल्लो परिस्थिती अनुसार पद हस्तान्तरण गरेका छन् । पद छाड्दैगर्दा मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।

पूर्वाधार निर्माणमा प्रगति

लामा नेतृत्वको सरकारले एक वर्षको अवधिमा २१ वटा रुग्ण आयोजनाको काम सम्पन्न गरेको छ । ३६३ किलोमिटर पक्की सडक, १४९ किलोमिटर ग्राभेल सडक, ९१ किलोमिटर नयाँ ट्रयाक तथा १८ किलोमिटर पदमार्ग निर्माण गरेको  छ । त्यस्तै ५१० किलोमिटर सडकको नियमित मर्मत, ३७ सडक पुल, ७ झोलुंगे पुल, ७७ कल्भर्ट निर्माण गरिएको छ । ८ वटा सरकारी भवन, २७४ वटा सामुदायिक भवन र १२ वटा पार्क निर्माण भएको छ ।

वस्ति विकास अन्तरगत १११ वटा जनता आवास ईकाई, अल्पसंख्यक समुदायका लागि ५७ वटा आपास ईकाइहरु बनाइएको छ ।

राजस्व संकलन र खर्च प्रणालिमा सुधार

प्रदेश सरकारले गत आर्थिक वर्षमा आफ्नै स्रोतबाट ४.२० प्रतिशतले बढेको छ । खर्च गर्ने क्षमता पनि ६.९९ प्रतिशतले बढेको छ ।  बाँडफाँडबाट प्राप्त हुने राजश्व पनि लामाको कार्यकालमा १२.३२ प्रतिशतले बढेको छ ।

शिक्षा र स्वास्थ्यमा सुधार

सामुदायिक विद्यालयमा १५६ वटा शैक्षिक गुणस्तर सुधार कार्यक्रम, १० वटा छात्रावास भवन निर्माण, २७४ सामुदायिक भवन निर्माण, २०८ विद्यालयको घेराबार निर्माण गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा १३ जिल्लामा पूर्ण खोप सुनिश्चितता हासिल गरी बागमतीलाई पूर्ण खोप प्रदेश घोषणा गरिएको छ । क्यान्सर उपचारका लागि ११ करोड ६७ लाख रुपैयाँ बराबरको सहुलियत प्रदान गरिएको छ ।

पाँचपोखरी थलनाथ गाउँपालिकालाई टेलिमेडिसिन मार्फत विपी कोइराला मेमोरियल अस्पतालसँग जोडिएको छ ।  विभिन्न अस्पतालमा विशेषज्ञ चिकित्सक परिचालन, प्रसूति केन्द्र विस्तार, १५ स्थानमा खुला व्यायामशाला स्थापना लगायतका कामहरु सम्पन्न भएका छन् । 

विपद् व्यवस्थापनमा तत्परता

२०८१ सालको असोज महिनाको बाढीपहिरोपछि प्रदेश सरकारद्वारा “QRT” (Quick Response Team) गठन गरी तत्काल सडक र पुल मर्मत गरिएको थियो । बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ५ करोड ८० लाख र विपद् सहायता कोषमा १० करोड रुपैयाँको काम भएको छ ।

कृषि, जलस्रोत र पर्यटनको जग बसाल्ने प्रयास

लामा नेतृत्वको सरकारले ५३४ साना तथा मझौला सिचाइ आयोजना सम्पन्न गरी करिब १२ हजार हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा पु¥याएको छ । गाई, भैँसी, बाख्राका लागि ९ वटा स्रोत केन्द्र स्थापना गरिएको छ ।

पर्यटन क्षेत्रमा प्रदेशभित्र १३१९ भौतिक संरचनाको निर्माण भएका छन् । बौद्ध धर्म, दलित समुदायको संस्कृति, धार्मिक पर्यटन पूर्वाधार तथा गन्तव्य प्रवद्र्धनका लागि रणनीति र डीपीआर निर्माण गरिएको छ ।

सुशासन र सेवा प्रवाहमा डिजिटल रुपान्तरण

प्रदेश सरकारको कार्यालय व्यवस्थापन प्रणाली मार्फत सञ्चालनमा आएको छ । सरकारी निर्णय, कार्यक्रम तथा परियोजनालाई पारदर्शी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य संस्थाको इ–रजिस्ट्रेसन प्रणाली र डिजिटल हेल्थ कार्यक्रम सुरु गरिएको छ ।

समावेशी कार्यक्रम र रोजगारी सृजना

गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत ७३ वटा स्थानीय तहमा सीपमूलक तालिम र पूँजी सहयोग गरिएको छ। बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिको हकहित संरक्षणका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । साथै, युवालाई लक्षित गरी सीप तालिम, खेलकुद पूर्वाधार निर्माण, रोजगार सृजना गरिएको छ ।

मुख्यमन्त्री लामाले विभिन्न चुनौती र सीमाबीच पनि आफ्नो सरकारको एक वर्षे कार्यकाल जनमुखी सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक न्याय र सुशासनको दृष्टिकोणले सफल रहन सकेको जनाउँदै सबैको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

प्रदेश विकासको दोस्रो रणनितीक योजना, नीति र विधि निर्माण गरी संघीयताको अभ्यास गर्दै जनपक्षिय काम गरिरहेका लामाका अनगिन्ती योजना कार्यान्वयन भएर नतिजा आउन नपाउँदै राजनैतिक अड्चन आएपछि नैतिकता देखाउँदै लामाले पदबाट राजिनामा दिएका छन् । १ वर्ष सरकारको नेतृत्व गरेका लामाले युगौं युग सम्झना हुनेगरी प्रदेशको विकासमा योगदान गरेका छन् ।

हेर्नुहाेस् बागमतीमा बहादुरसिहं लामा नेतृत्वकाे सरकारले गरेका काम र भएकाे उपलब्धि ।

प्रकाशित मिति : २०८२, २२ श्रावण बुधबार ००:००  १० : १८ बजे