सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौंमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरेको चारदिने एकीकृत सेवा प्रवाह शिविर भव्य रूपमा सम्पन्न भएको छ।
साउन १९ गतेदेखि २२ गतेसम्म काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरिएको शिविरबाट १,१०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्।
काठमाडौंबासी पालिकाबासीको सहजताका लागि शिविर आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष बिना राईका अनलाइन सराेकारलाई बताउनु भयाे ।
उपाध्यक्ष राईले भन्नुभयो, “हामीले सोचेभन्दा बढी नागरिकहरूको उपस्थिति रह्यो। जहाँ भए पनि नागरिकसँग सम्पर्क कायम गरिरहने र सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य सफल भयो।” उहाँले बाँकी सेवाग्राहीका लागि थप समन्वय गरी आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
शिविरमार्फत वडा नम्बर १ का १ सय ९३ जनाले सेवा लिएका छन् । यस्तै वडा नम्बर २ का १ सय २८ जना, वडा नम्बर ३ का १ सय ३०, वडा नम्बर ४ का ९१ जना र वडा नम्बर ५ का ९८ जनाले सेवा लिएका हुन् भने गाउँपालिकाले काठमाडौंबाटै १२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ३ सय १३ जनालाई राष्ट्रिय परिचयपत्र र २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरी परिचयपत्र सम्बन्धी ५ सय २९ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले शिविरमार्फत वडा नम्बर १ बाट ३८ हजार ६ सय ९०, वडा नम्बर २ बाट २० हजार ४ सय ८५, वडा नम्बर ३ बाट १७ हजार ९ सय ९६, वडा नम्बर ४ बाट १९ हजार ८ सय ६३ र वडा नम्बर ५ बाट २५ हजार ३ सय ८ गरी १ लाख २२ हजार ३ सय ४२ रुपैयाँ राजस्व संकलन गरको जनाइएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, प्रशासकीय अधिकृतलगायतको सक्रिय सहभागिता थियो।
सेवा लिने नागरिकहरूले यस्तो कार्यक्रम सञ्चालन गरेबापत पालिकालाई अनलाइन सराेकार मिडीया मार्फत धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र जनताको सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।












