मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरपालिका भित्रका घाइते अपाङ्ग भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता दिने भएको छ । सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश स्थापनाका क्रममा घाइते भई अपाङ्ग अवस्थामा रहेका व्यक्तिहरुको सहजताका लागि नगरपालिकाले जीवन निर्वाह भत्ता दिने भएको हो ।
संघर्षका क्रममा घाइते भई अपाङ्ग अवस्थामा रहेका नागरिकलाई जीवन निर्वाहमा सहयोग पु¥याउने उद्देश्यले नीतिगत रुपमै सहयोग रकम भत्ता स्वरुप उपलब्ध गराइने नगरप्रमुख विष्णुकुमार भामले अनलाइन सरोकारसँग बताए । यो कार्यक्रमले राज्यको व्यवस्था परिपर्तन र जनताको अवस्था सुधारका लागि योगदान गर्नेक्रममा घाईते अपाङ्ग भएर सहारा विहिन भई कष्टकर जीवन विताइरहेकाहरुका लागि राहत मिल्ने नगरप्रमुख भामको भनाई छ । छायाँनाथ राराले घाइते अपाङ्गलाई आर्थिक सहयोग गर्न ‘जीवन निर्वाह भत्ता वितरण निर्देशिका २०८१’ जारी गरिसकेको छ ।
नगरको निर्देशिका बमोजिम भत्ता पाउन इच्छुक र योग्य व्यक्तिहरूलाई आवश्यक कागजातसहित ७ दिनभित्र निवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।
घाइते अपाङ्गले नगरपालिकामा निवेदनसहित नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि, नेपाल सरकारबाट जारी घाइते अपाङ्ग प्रमाणपत्रको प्रतिलिपि, जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित परिचयपत्र, परिवार पुस्तिका वा गृह नगरपालिकाको सिफारिस, प्रदेश स्थापनाका क्रममा घाइते भएको भए सो को प्रमाणपत्र, र बैंक खाता नम्बर समावेश गर्नुपर्नेछ ।

आवेदन प्राप्त भएपछि कागजात अध्ययन गरेर भत्ता पाउने व्यक्तिको नाम सूचिकृत गरी जीवन निर्वाह भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख भामले नगरपालिकामा नयाँ नयाँ नीति कार्यक्रम र जनमुखी बजेट ल्याएर कार्यान्वयन गरिरहेका छन् ।












