बाजुराको हिमाली गाउँपालिका–३ गुम्बामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज भएको छ । गाउँपालिकाको करिब १० लाख रुपैयाँ लागत र स्थानीयको जनश्रमदानमा बनेको भवनबाट अहिले नियमित स्वास्थ्य सेवा सुरु भएको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले अनलाइन सरोकारलाई बताउनु भयो ।
पहिले सामान्य औषधि लिन वा उपचार गर्न डेढदेखि दुई दिन पैदल यात्रा गरेर युना आधारभूत स्वास्थ्य केन्द्र वा बिच्छयाँ स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता हटेको छ । अहिले भने गाउँमै सिटामोल, जीवनजलजस्ता आधारभूत औषधि र प्राथमिक उपचार उपलब्ध भएपछि स्थानीय निकै खुसी छन् ।
गुम्बाका करिब २५ र लाम्पाटाका १२ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मासिक ५० भन्दा बढी बिरामीले स्वास्थ्य संस्थाबाट सेवा लिने गरेका छन् । यसअघि खोप सेवा समेत नपाउने गुम्बामा अहिले नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
पर्यटन र पशुपालनका हिसाबले महत्वपूर्ण मानिने गुम्बा हुँदै रानिसैन जाने बाटो तथा जनजातिले भेडा, च्याङ्ग्रा, चौरी गाई लैजाने मार्ग भएकाले यस संस्थाले पर्यटक र यात्रुलाई समेत सुविधा पु¥याएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हिमाली गाउँपालिकामा हालसम्म २ वटा स्वास्थ्य संस्था र ११ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । जिल्लाको कुल ३५ प्रतिशत भूभाग ओगटेको यस पालिकामा जनसंख्या कम भए पनि भौगोलिक विकटतालाई ध्यानमा राख्दै गुम्बामा स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।












