२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा लिखु गाउँपालिका ४ र ५ काे दुई दिने नागरिक सेवा शिविर सुरु



ओखलढुङ्गाको लिखु गाउँपालिका–४ र ५ ले अस्थायी रूपमा काठमाडौँमा बस्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै दुई दिने वडास्तरीय नागरिक सेवा शिविर सञ्चालन गरेको छ । सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आज देखि सुरु भएको शिविरमा सामाजिक भत्ता वितरण तथा नवीकरण, परिचयपत्र दर्ता–पंजीकरण, लगायत वडा बाट दिइने विभिन्न सिफारिससहितका सेवा उपलब्ध गराइँनेछ ।

वृद्ध, अपाङ्गलगायतका नागरिकले कागजात वार्षिक रूपमा नवीकरण गर्नुपर्ने बाध्यता र विभिन्न कारणले अस्थायी रूपमा काठमाडौँ बस्नुपरेको अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाका सबै वडाले यस प्रकारको शिविर सञ्चालन गर्दै आएको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले अनालाइन सरोकारलाई बताउनु भयो ।

“राज्यले सामाजिक भत्ता पाउने नागरिकलाई बायोमेट्रिक अनिवार्य गर्नुको साथै गाउँ–घर जाने सडक दुर्गम भएकाले नागरिकलाई सहजता दिन शिविरमार्फत सबै सेवा एकै ठाउँबाट दिने व्यवस्था गरिएको” र नवीकरणका कामलाई प्राथमिकतामा राखेर अन्य सिफारिस, घटना दर्ता, जन्मदर्ता लगायतका काम पनि गरिने लिखु–५ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मोहन कार्कीले बताउनु भयो ।


यस्तै, लिखु–४ का वडा अध्यक्ष घनबहादुर कार्कीले जेष्ठ नागरिक, एकल महिला र अपाङ्ग नागरिकहरु गाउँसम्म पुग्न सक्ने सम्भावना कम भएकाले वडा ४ र ५ को संयुक्त पहलमा दुई दिने शिविर सञ्चालन गरिएको जानकारी दिनु भयो ।

शिविरमा सहभागी भएका सेवाग्राहीहरूले काठमाडौँमै आवश्यक कागजात नविकरण र सामाजिक भत्ता जस्ता सेवाहरु प्राप्त गर्दा समय र खर्च दुबै बचत भएको भन्दै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् । उनीहरूले यस्ता कार्यक्रम निरन्तर गर्न आग्रहसमेत गरेका छन् ।

शिविर आगामी भदौ १२ गतेसम्म सञ्चालन हुने छ भने नागरिकको उपस्थिति र कार्यभारका आधारमा समय थप गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार ००:००  ५ : २९ बजे