रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा भएको छ। करिब चार वर्षदेखि निरन्तर प्रयास गर्दै ५१ वटा सूचक पूरा गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सुरक्षा र सहभागितामा महत्त्वपूर्ण प्रगति हासिल गरेपछि बुधबार तीनलाल पार्कमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको हो ।
सो अवसरमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ बनाउन नगरले गरेका कामबारे जानकारी दिनुभयो। उहाँका अनुसार नगरका १४ वटै वडाले तोकिएका सूचक पूरा गरेपछि वडा स्तरमै ‘बालमैत्री शासन युक्त वडा’ घोषणा गरिएको थियो। उहाँले भन्नुभयो, ‘हामीले बालबालिकाका अधिकारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ, यो घोषणा हाम्रो मात्र सफलता होइन, नगरका सबै क्षेत्र र नागरिकको सक्रिय सहभागिताले सम्भव भएको उपलब्धि हो ।’
मन्थली पूर्णखोप नगर घोषणा, खुल्ला दिसामुक्त नगर घोषणा, पूर्णसाक्षर नगर घोषणा भइसकेकोले नेपाल सरकारको मापदण्डको आधारमा भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ ओटा राष्ट्रिय सूचकहरू पुरा गर्दै बालमैत्री नगर घोषणा गर्ने अवस्थामा आई पुगेको नगर प्रमुख श्रेष्ठको भनाई थियो ।
२०७९ सालदेखि बालमैत्री नगर घोषणा गर्ने अभियान सुरु गरेको मन्थली नगरपालिकाले करिब चार वर्षमा यो उपलब्धि हासिल गरेको हो। नगरपालिकाले शिक्षा, स्वास्थ्य, बालअधिकार संरक्षण, बालबालिकाको सहभागिता, खेलकुद तथा सिर्जनात्मक गतिविधि, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर प्रगति गर्दै ५१ वटा सूचक पूरा गरेको छ ।
कार्यक्रममा गत वर्ष नगरभित्र शैक्षिक सुधार र तथ्याङ्कीय नतिजामा उल्लेखनीय प्रगति गर्ने विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। यसपटक १४ वटै वडाका वडा अध्यक्षहरूलाई कदरपत्रद्वारा योगदानको कदर गरिएको थियो।












