मुगुको सोरु गाउँपालिकाले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले दीगो रोजगारी सिर्जना गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘उद्यम विकास’ अभियान ल्याएको हो ।
यसवर्षको पालिकाको नीति कार्यक्रम र बजेटमा पालिका भित्रका नागरिकका आर्थिक विकाससँग जोडिएका पुख्र्यौली पेशा व्यवसायको प्रवद्र्धन र विकाससँगै युवापुस्ताका लागि नयाँ उद्यमशिलताका कार्यक्रम अघि सारेको हो ।
मिसन रोजगारी अभियान सञ्चालन गर्दै रोजगार रणनीति तयार गरी सोरुमा सुहाउँदो श्रम बजारको अध्ययन, सीप विकास तथा तालिमलाई प्राथमिकतामा दिने, महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न उत्कृष्ट महिला उद्यमीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने, ‘उद्यमसँग उपाअध्यक्ष, लघु उद्यम स्वरोजगार’ कार्यक्रमलाई निरन्तरता दिने, स्थानीय युवाहरूलाई हेयर कटिङ, सिलाइ–कटाइ, छाला–जुत्ता सिलाई तथा मर्मत तालिम र व्यवसाय सञ्चालनका लागि अनुदान दिने, लघु तथा घरेलु उद्योग दर्ता प्रक्रिया सहज बनाउने र स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन मेला, प्रदर्शनी र प्रचार–प्रसार गर्ने कार्यक्रम ल्याइएको छ ।
दलित समुदायको पुख्र्यौली पेशा आराणलगायत परम्परागत व्यवसायलाई आधुनिकिकरण गर्ने, र विदेशीने युवालाई गाउँमै स्वरोजगार बनाउँदै वेरोजगारी समस्या अन्त्य गर्न ‘सोरुमा केही गरुँ’ भन्ने नारासहित उद्यम गर्न इच्छुकलाई लगानी र वातावरण सहज बनाइने सोरु गाउँपालिका अध्यक्ष धर्मराज शाहीले अनलाइन सरोकारसँग बताए । स्थानीयलाई स्वरोजगारमुखी बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले अगाडि बढाइएका यस्ता कार्यक्रमले गाउँपालिकाभित्र उद्यमशीलता र सीप विकासलाई मजबुत बनाउने अपेक्षा गरिएको अध्यक्ष शाहीको भनाई छ ।
पालिकाले नीति कार्यक्रम मार्फत अघि सारेका योजना कार्यान्वयनका लागि पालिकामा पर्याप्त बजेट नहुने भएकाले दातृ निकाय र माथिल्ला सरकारसँग दुर्गम गाउँको उद्यम विकासमा योगदान गर्न सोरु गाउँपालिकाले अपिल गरेको छ ।












