बागलुङकाे तमानखोला गाउँपालिका–२ ले वडाको विकासका अधिकांश काम जनश्रमदानमार्फत अघि बढाइरहेको छ । वडाअध्यक्ष नारायण सुनुवारका अनुसार राज्यको सीमित स्रोत–साधन मात्रले विकास सम्भव नभएकाले स्थानीय नागरिकलाई श्रमदानमार्फत योजनामा संलग्न गराइएको हो ।
उनका अनुसार वडाको चार टोलमा विभाजन गरी नियमित रूपमा श्रमदानमार्फत विभिन्न निर्माण तथा सरसफाइका काम सम्पन्न भइरहेका छन् । श्रमदान अभियानमार्फत कुलो निर्माण, सडक सफाइ, चौतारा तथा धारा निर्माण, पैदलमार्ग सुधारजस्ता काम सम्पन्न भएका छन् ।
अध्यक्ष सुनुवारले भन्नुभयो, “स्थानिय तहको दिगो विकासका लागि आफ्नै वडाका नागरिकलाई उत्पादन र श्रममा जोड्दै जनसहभागिता अनिवार्य बनाइएको छ ।”
स्थानिय नागरिक र जनप्रतिनिधि सक्रिय सहभागितामा अघि बढाइएको यो अभियानले वडाको भौतिक पूर्वाधार मात्र नभई सामुदायिक एकता र सहकार्यलाई पनि बलियो बनाएको छ ।












