
काठमाडौें । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले पीसीआर परिक्षणको दायरा बढाएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा नगरपालिकाले एकैदिन ५ सय १४ जनाको पीसीआर परिक्षण गरेको हो ।
संक्रमितको संख्या बढे संगै पीसीआर परिक्षणलाई तिव्र पारिएको प्रवक्ता एवम् बुढानिलकण्ठ नगरपालिका १० वडा अध्यक्ष नवराज भट्टराईले बताए । उनका अनुसार हाल सम्म ३, ८, १० र ११ नम्बर वडामा परिक्षण गरिएको छ । अन्य वडाहरुमा पनि परिक्षणलाई निरन्तता दिने उनले बताए ।
नगरपालिकाको ५५ औ कार्यपालिका बैठकले ५० बेडको आइसोलेसन केन्द्र निर्माण गर्ने तथा अग्रपंक्तिमा रहेर कोरोनासँग लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
बुढानिलकण्ठमा मंगलबार मात्र तीन जनामा संक्रमित थपिएका छन् । बुढानिलकण्ठ १० शिव मन्दिर नजिकै बस्ने २३ वर्षीय महिला, बुढानिलकण्ठ १० आकासेधारा बस्ने ४० पुरुष र बुढानिलकण्ठ २ सुन्दरटार बस्ने १८ वर्षीय महिलामा संक्रमण देखिएको छ ।












