२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायाँनाथ रारामा ‘१ मुख, १० रुख’ अभियान प्रभावकारी



मुगुको छायाँनाथ रारा नगरपालिकामा ‘१ मुख, १० रुख’ अभियान प्रभावकारी बनेको छ । पर्यावरणीय, पर्यटकीय र आर्थिक रुपमा समेत लाभ लिँदै जलवायु र प्राकृतिक स्रोतको संरक्षण गरेर छायाँनाथ रारालाई हरित नगर बनाउने उद्देश्यले सुरु गरिएको १ व्यक्तिले १० वटा विरुवा रोप्ने ‘१ मुख, १० रुख’ अभियान प्रभावकारी बनेको हो ।

नगरप्रमुख विष्णुकुमार भामले निर्वाचित भए लगत्तै औपचारिक रुपमा वृक्षारोपण अभियानको शुभारम्भ गरेका थिए । विश्वमा चर्चित रारा ताल र छायाँनाथ धामसहितका सुन्दर पर्यटकीय क्षेत्र भएको नगरपालिकालाई हरित नगर बनाउने अभियानमा अहिले सबै नगरबासी स्वस्फुर्त जुटेका छन् ।

नगरपालिकालाई स्वच्छ, सुन्दर र हरावरा बनाउन नगरपालिका भित्रका सबै घर र सरकारी कार्यालय, विद्यालयहरु र संघ संस्थामा आवद्ध व्यक्तिहरुले आफु बस्ने ठाउँ वरिपरि विरुवा रोप्न र आफुले रोपेका विरुवा संरक्षण समेत गर्न थालेका छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रममा पनि पहिरो नियन्त्रण तथा भू–संरक्षणका लागि वृक्षारोपण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । छायाँनाथ रारामा १ जना व्यक्तिले अनिवार्य १० वटा विरुवा रोप्नुपर्ने छ ।

यो अभियानले छायाँनाथको स्वच्छता र सुन्दरता बढेको नगरप्रमुख विष्णुकुमार भामको भनाई छ ।

प्रदुषण बढिरहेका बेला वृक्षारोपण गर्दा अक्सिजन उत्सर्जन बढ्ने, तापक्रम नियन्त्रण हुने, माटोको कटान राकिने र जमिन उर्वर हुने, फलफूल, दाउरा, जडीबुटी, काठ लगायतबाट आम्दानी हुने, पर्यटन विकासमा योगदान पुग्ने, कृषि उत्पादनमा सहयोग पुग्ने, भूक्षय, बाढी र सुख्खा जस्ता प्राकृतिक प्रकोप कम गर्ने जस्ता फाईदा हुने भएकाले वृक्षारोपण कार्यक्रमलाई घरघरमा पु¥याइएको नगरपालिकाले जनाएको छ । 

शुद्ध हावा पाइने भएकाले श्वासप्रश्वास प्रणालीलाई फाइदा पुग्ने, मानसिक शान्ति र सौन्दर्य प्रदान गर्ने र सामुदायिक स्तरमा वृक्षारोपणले ऐक्यबद्धता र सामाजिक सहकार्य बढाउने भएकाले पनि छायाँनाथ राराका नागरिक ‘१ मुख, १० रुख’ अभियानमा जोडिएका छन् ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  १० : १५ बजे