२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बानेश्वरमा नरसंहार : १८भन्दा बढी विद्यार्थीको ज्यान गयो, सयौँ घाइते – सरकारको असफलता



काठमाडौं, भदौ २३ ।
आजको दिन नेपाली लोकतान्त्रिक इतिहासकै सबैभन्दा कालो र शर्मनाक अध्याय बनेको छ। नयाँ बानेश्वरमा शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमाथि सरकारले गरेको दमनले देशलाई शोक र आक्रोशमा डुबाएको छ। प्रहरी प्रशासनले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १८ भन्दा बढी विद्यार्थीले ज्यान गुमाएका छन् भने १५० भन्दा बढी घाइते भएका छन्। आन्दोलन शान्तिपूर्ण थियो, तर सरकारले नागरिकको आवाज सुन्नुको साटो तिनै नागरिकको रगत बगाउने बाटो रोजेको छ, जसले यस सरकारको निर्दयी र हत्यारा चरित्र उजागर गरेको छ।

काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरूमा अहिले करुण दृष्यहरू देखिएका छन्। घाइते विद्यार्थीहरू उपचार पर्खिरहेका छन् तर रगत छैन, औषधि छैन, एम्बुलेन्स छैन, बेड छैन। स्वास्थ्यकर्मीहरू निरन्तर चिच्याइरहेका छन् तर स्रोतसाधनको हाहाकारका कारण उपचार दिन असमर्थ छन्। कतिपय घाइतेहरू उपचार नपाएर मृत्युको मुखमा धकेलिएका छन्। यस्तो विपद्को घडीमा नागरिकको जीवन रक्षाको ग्यारेन्टी गर्नुपर्ने सरकारले भने मौनता धारण गरेको छ। मौनता मात्र होइन, प्रधानमन्त्री र गृहमन्त्री नै यस हत्याकाण्डका प्रत्यक्ष जिम्मेवार हुन्।

सरकारले आन्दोलन थाम्न कर्फ्यु लगायो, तर युवाहरू अझै पनि दृढतापूर्वक सडकमा उत्रिरहेका छन्। उनीहरूको स्वर स्पष्ट छ — यो सरकार भ्रष्ट, असक्षम र हत्यारा हो। जनताले शान्तिपूर्ण विरोधमार्फत सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका थिए। तर सरकारले जवाफमा गोली र दमन मात्र प्रयोग गर्‍यो। आजको रक्तपातले यो स्पष्ट प्रमाणित गरेको छ कि सरकार संवाद र जवाफदेहिता होइन, हिंसा र निरंकुशतामार्फत सत्ता चलाउन खोज्दैछ।

यो केवल प्रशासनिक कमजोरी होइन, यो राजनीतिक हत्या हो। प्रहरीलाई अन्धाधुन्ध गोली चलाउन आदेश दिने राजनीतिक नेतृत्वले अब कुनै हालतमा पनि जिम्मेवारी पन्छिन सक्दैन। १८ विद्यार्थीको ज्यान र सयौँ घाइतेको पीडाको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनैपर्छ। उनीहरूमा न्यूनतम नैतिकता र संस्कार छ भने आजै राजीनामा दिनुपर्छ। तर सत्ताको लालचमा अन्धा भएका नेताहरू अझै कुर्सीमा टाँसिएका छन्।

आजको घटनाले फेरि प्रमाणित गरेको छ कि नेपाल सरकार पूर्ण रूपमा असफल भएको छ। यसले नागरिकलाई सुरक्षा दिन सकेन, अस्पताललाई स्रोत दिन सकेन, आन्दोलनलाई सम्बोधन गर्न सकेन र अन्ततः आफ्नै नागरिकको रगत बगायो। यस्तो सरकारलाई शासन गर्ने कुनै नैतिक अधिकार बाँकी छैन। यो सरकार अब जनताको होइन, हत्यारा सरकार हो।

नयाँ बानेश्वरमा खसेका १८ जना विद्यार्थीको रगत व्यर्थ जाने छैन। देशभरका युवाहरू अझै आक्रोशित भएका छन्। उनीहरूले रगतले लेखेको सन्देशलाई पढिरहेका छन् — यो सरकार अब हट्नैपर्छ। आजको बलिदान भोलिको क्रान्ति बन्नेछ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार ००:००  ६ : १६ बजे