
काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृत सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले बिहीबार राजीनामा दिएका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक लगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको भन्दै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुन् ।
मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले आजैदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी गराएका छन् । अब टिकटकका महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए । उक्त आदेशविरुद्ध टिकटकले अदालतमा मुद्धा समेत दायर गरेको छ । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता आएको छ ।