२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति, संवाद र स्थायित्वका लागि नेपाल शेर्पा संघले जारी गर्यो प्रेस नोट



नेपाल शेर्पा संघले हालैको जेन–जी (Gen-Z) पुस्ताद्वारा गरिएको आन्दोलनका कारण उत्पन्न परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघले शुक्रबार एक प्रेस नोट जारी गर्दै शान्तिपूर्ण आन्दोलनको संवैधानिक अधिकारलाई समर्थन गर्दै हिंसात्मक गतिविधि र तोडफोडजस्ता काम नगर्न आग्रह गरेको छ ।

प्रेस नोटमा उल्लेख भए अनुसार, आन्दोलनका क्रममा विभिन्न सामाजिक संस्था, सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय, निजी क्षेत्र तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिको निन्दा गरिएको छ । संघले देशलाई अशान्तितर्फ धकेल्ने कार्यले मुलुकको स्थायित्व, सुशासन र समृद्धिमा नकारात्मक असर पार्ने भएकाले सबै पक्ष संयमित रहनुपर्नेमा जोड दिएको छ ।

नेपाल शेर्पा संघले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउनका लागि विद्यमान संवैधानिक मार्गदर्शन अनुसार समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ । साथै, आन्दोलनरत पक्षलाई पनि संवैधानिक सीमाभित्र रहँदै आफ्नो माग प्रस्तुत गर्न अपिल गरेको छ ।

देशभर फैलिएको असन्तुष्टिलाई सम्बोधन गर्न राज्यले निष्पक्ष संवाद, न्यायिक प्रक्रिया र प्रभावकारी कार्यनीतिमा ध्यान दिन जरुरी छ। वर्तमान परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारिता, शिक्षा र धार्मिक–सांस्कृतिक क्षेत्रका सरोकारवालाहरू एकताबद्ध भई समाधानको बाटो खोल्नुपर्ने प्रेस नोटमा भनिएको छ ।

शेर्पा समुदायको योगदान र भूमिका उल्लेख गर्दै संघले पर्यटन, पर्वतारोहण तथा अन्य क्षेत्रमार्फत मुलुकको विकासमा टेवा पु¥याउँदै आएकोमा गर्व व्यक्त गरेको छ । संघले नेपालमा शान्ति, सुशासन, सहमति र आपसी सद्भाव कायम राख्दै देशलाई दिगो समृद्धितर्फ अघि बढाउन सम्पूर्ण नागरिकलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २०८२, २७ भाद्र शुक्रबार ००:००  ४ : २८ बजे