
ओखलढुंगा । नेपाली सेनामा कोरोना संक्रमण देखिएपछि ओखलढुङ्गाको दुईवटा अस्पताल सिल गर्ने तयारी गरिएको छ । जिल्लाको अरिदमन गणमा कार्यरत एकजना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचार गरिएको रुम्जाटार अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल सोब्रु शुक्रबारबाट सिल गर्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।
कोरोना पुष्टि भएका सेनाका जवानको रुम्जाटार अस्पताल र ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भएको थियो । अस्पतालमा उपचार गराएका उनमा संक्रमण देखिएपछि अस्पतालको अतिआवश्यक बाहेक सबै सेवा बन्द गरिएको उनले बताए ।
कोरोनाको लक्षण देखिएपछि उनलाई हेलिकोप्टरमार्फत ९ गते काठमाडौँ लगिएको थियो । उनको काठमाडौँमै स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
सेनालाई कोरोना देखिए पछि जिल्लामा उच्च सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ ।