२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षाका कारण ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध



अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।

आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ ।

बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ ।

यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका-११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका – १ नेपालथोक सडक अवरूद्ध भएको छ ।

यसैगरी कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका(५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका-८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ ।

यता, कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका-१ स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्‍चालनमा आएको छ ।

यसैगरी बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका -८ वगुवा खोला र बकैया गाउँपालिका -११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार ००:००  ९ : ५६ बजे